सुदूरपश्चिमलाई स्वीट्जरल्याण्ड होइन, आफ्नै पहिचानले जोड्छौँ : बालेन

5

काठमाडौँ, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिमलाई समृद्ध र आत्मनिर्भर बनाउने दाबी गर्नुभएको छ । रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम बनेको देश बनाउने सपना पूरा गर्ने शक्ति आफ्नो पार्टीसँग मात्र रहेको बताउनुभयो ।

उहाँले आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो । “खल्तीमा पैसा नभएको, विपन्न गरिबले शिक्षा पाउनुपर्‍यो, स्वास्थ्य पाउनुपर्‍यो,” उहाँले भन्नुभयो, “दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, अब डेढ वर्षमै बन्नुपर्‍यो, त्यो हो हाम्रो अजेन्डा ।”

पूर्वाधार विकासमा ढिलासुस्ती सह्य नहुने उल्लेख गर्दै उहाँले बाटो निर्माणलाई प्राथमिकतामा राख्ने बताउनुभयो । “रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नुपर्‍यो,” उहाँले भन्नुभयो ।

रास्वपा सरकारमा गए काङ्ग्रेस, एमाले, माओवादीलगायत सबै दलका कार्यकर्ता र सर्वसाधारण हिँड्ने बाटो बनाइने उहाँले दाबी गर्नुभयो ।

नेपाललाई स्वीट्जरल्याण्ड बनाउने चर्चा चल्ने गरेको उल्लेख गर्दै उहाँले सुदूरपश्चिममै प्राकृतिक र पर्यटकीय सम्भावनाको खानी रहेको बताउनुभयो । “मान्छेले देशलाई स्वीट्जरल्याण्ड बनाउनुपर्छ भन्छन्, तर स्वीट्जरल्याण्डको बाउ बडिमालिका यहीँ छ,” उहाँले भन्नुभयो, “स्वीट्जरल्याण्डको पराकाष्ठा रामारोशन यहीँ छ, खप्तड नेसनल पार्क यहीँ छ, किन बनाउनुपर्‍यो स्वीट्जरल्याण्ड ?”

उहाँले बडिमालिका, रामारोशन र खप्तड राष्ट्रिय निकुञ्ज जस्ता स्थलहरूको उदाहरण दिँदै सुदूरपश्चिमको पहिचान र सम्भावनालाई राष्ट्रिय स्तरमा उजागर गर्नुपर्ने धारणा राख्नुभयो । “हामी नेपालीहरू माल भएको चाल नपाको मान्छे पर्‍यौँ, भएको चिज देखाउन सकेका छैनौँ, सुदूरपश्चिमलाई जोड्न सकेका छैनौँ,” उहाँले भन्नुभयो ।

सुदूरपश्चिम र काठमाडौँबिच सांस्कृतिक तथा भावनात्मक एकता आवश्यक रहेको उल्लेख गर्दै उहाँले सुदूरपश्चिमको पहिचान राष्ट्रिय स्तरमा स्थापित हुनुपर्ने बताउनुभयो । “सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन सुदूरपश्चिमका गीतहरू काठमाडौँँका चोकचोकमा बज्छन्, अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौँसँग,” उहाँले भन्नुभयो ।

सभामा उनले रास्वपा भोट माग्न नभइ काम माग्न आएको दाबी गर्नुभयो । “राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरूसँग यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो । काम दिनुस् है,” उहाँले भन्नुभयो, “तपाईंहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूर बनाउँछ । भोट नदिए पनि हुन्छ, बरु कामको लिस्ट दिनुस् । काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले । सुदूर अब दुर नाईं झिक्कै झिक्कै माया तमलाई।”

Share This:
सम्बन्धित खबर
Loading...