क्रान्तिको आधारभूमिबाट समाजवादको नयाँ यात्रा गर्न आएको हुँ : दाहाल

5

रुकुमपूर्व, ६ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका–२ नायगाड हुँदै सदरमुकाम रुकुमकोट पुग्नुभएको छ । चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि उहाँले पत्रकार सम्मेलन गर्दै आफ्ना अनुभव सार्वजनिक गर्नुभयो ।

संयोजक दाहाले भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका सबै वडासहित दुर्गम बस्तीमा दुई–तीन दिनमै कठिन अभियान सम्पन्न गरेको उल्लेख गर्दै जनताको अभूतपूर्व उत्साहले भौतिक कठिनाइ महसुस नभइ नयाँ ऊर्जा प्राप्त भएको बताउनुभयो । “सबै ठाउँमा सडक सञ्जाल विस्तार, अधुरा बाटो सम्पन्न, क्रमागत योजना पूरा र पुल नभएका स्थानमा पुल निर्माण गर्नुपर्ने माग जनताबाट आएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार रुकुमपूर्वका जनताबाट सडक सञ्जालका अतिरिक्त शिक्षा, पर्यटन र रोजगारीप्रति विशेष चासो देखिएको छ । “यसअघि निर्वाचित नेताबाट भएका कामप्रति स्वीकार र खुसी छ, तर अब काम गुणात्मक हुनुपर्छ भन्ने जनताको अपेक्षा स्पष्ट छ,” दाहालले भन्नुभयो । रुकुमपूर्वमा आफूप्रति असाधारण विश्वास र अपेक्षा देखिएको उल्लेख गर्दै उहाँले त्यसले ठुलो जिम्मेवारीको अनुभूति गराएको बताउनुभयो । अभियानका क्रममा प्राप्त ज्ञापनपत्रलाई वर्गीकरण गरी पाँच वर्षभित्र जिल्लामा गुणात्मक काम गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

रुकुमपूर्वलाई ‘क्रान्तिको आधारभूमि’ उल्लेख गर्दै संयोजक दाहालले यहाँबाट समाजवादको नयाँ यात्रा सुरू गर्ने उद्घोष गर्नुभयो । “देश अप्ठ्यारो अवस्थामा छ । यही आधार इलाकाबाट जनयुद्ध र क्रान्ति सुरु गरिएको थियो । अहिले यहीँबाट नयाँ सन्देश दिन रुकुमपूर्व आएको हुँ । यहाँबाट जाने सन्देश देशकै लागि महत्त्वपूर्ण हुन्छ” उहाँले भन्नुभयो ।

जनयुद्धको आधारभूमिमा आएर जनयुद्ध दिवस मनाइएको र त्यसको स्मरणमा जनयुद्धका सहिद तथा बेपत्ता परिवार र घाइतेलाई सम्मान गरी प्रमाणपत्र वितरण गरिएको जानकारी दिँदै उहाँले देशभरिका सहिद परिवार, बेपत्ता परिवार तथा घाइते–अपाङ्गहरू यसबाट उत्साहित भएको बताउनुभयो ।

रुकुमपूर्व जनयुद्धलाई शान्तिमा रूपान्तरण गर्ने क्रममा भएको १२ बुँदे समझदारीसँग जोडिएको ऐतिहासिक स्थल रहेको उल्लेख गर्दै उहाँले यहाँको सामुदायिक जीवनशैली र परम्पराले नेपाली मौलिकतामा आधारित समाजवाद निर्माण सम्भव रहेको धारणा राख्नुभयो । “समाजवाद बाहिरबाट आयात गर्ने होइन, नेपाली संस्कृति र मौलिकताबाटै निर्माण गर्ने हो । त्यो सम्भावना यहाँबाट देखिन्छ”, उहाँले जोड दिनुभयो । संयोजक प्रचण्डले रुकुमपूर्वको विकास र जनताको हितका लागि आफू प्रतिबद्ध रहेको दोहोर्‍याउँदै अभियानलाई जनअपेक्षाअनुसार परिणाममुखी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...