ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

4

काठमाडौँ, ६ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन प्रेरित गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

ग्याल्पो ल्होसार, २१५३ को पावन अवसरमा आज सम्पूर्णमा शुभकामना दिँदै उहाँले धार्मिक श्रद्धा, सामाजिक सद्‌भाव, सांस्कृतिक गौरव र राष्ट्रिय एकताको प्रतीक बनेर ग्याल्पो ल्होसार पर्वले देशलाई प्रगति, शान्ति र समृद्धिको मार्गमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

शुभकामना सन्देशमा उहाँले स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउनुपर्नेमा जोड दिनुभएको छ । नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्‌भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने विश्वास लिएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्ने बताउनुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “परम्परागत पोसाक, मौलिक नृत्य, भजन–किर्तन र सांस्कृतिक कार्यक्रमले हाम्रो विविधतायुक्त समाजलाई जीवन्त राख्ने कार्य यस पर्वले गर्दै आएको छ, ग्याल्पो ल्होसार, शेर्पा समुदायको मात्र पर्व नभई सम्पूर्ण नेपालीको साझा सांस्कृतिक सम्पदा हो, जसले बहुभाषा र बहुसंस्कृतिलाई सम्मान गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्छ ।”

यस अवसरमा गुम्बा दर्शन, धर्मगुरु र लामाबाट आशीर्वाद प्राप्त गर्ने परम्परा, विशेष परिकार खाप्से, डेशिल, गुथुकआदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउनु नेपालीको मौलिक पहिचान हो । यसले रैथाने संस्कृतिको जगेर्ना गर्दै कृषि उपजको महत्वलाई उजागर गर्दछ ।

Share This:
सम्बन्धित खबर
Loading...