एमाले पहिलो शक्ति बन्ने अध्यक्ष ओलीको दाबी

16

झापा, ५ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा आज आयोजित कार्यक्रममा मतदातासामु प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले एमालेप्रति जनसमर्थन बढ्दै गएको बताउनुभयो । उहाँले विगतमा विभिन्न चुनौती र अवरोध सिर्जना गरिए पनि एमालेको जनाधार कमजोर नभएको र आगामी निर्वाचनमा त्यसको पुष्टि हुने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले अघिल्लो निर्वाचनमा एमाले दोस्रो शक्ति रहे पनि अब पहिलो पार्टी बन्ने अवस्था बनेको उल्लेख गर्नुभयो । विकास, स्थिरता र सुशासनका पक्षमा जनताले मत दिनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।

उहाँले मुलुकमा शान्ति, स्थायित्व र विकासको आवश्यकता औँल्याउँदै हिंसा, आगजनी र अराजक गतिविधि स्वीकार्य नहुने बताउनुभयो । नेपाली समाज परिश्रमी, शान्तिप्रिय र सहकार्यमा विश्वास गर्ने भएकाले देश निर्माणमा सकारात्मक सोच आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । आइतबारदेखि झापामा रहनुभएका अध्यक्ष ओलीले निर्वाचन केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै आज दिनभर दमक क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ ।

४२ बुँदे प्रतिबद्धता सार्वजनिक
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ को विकासलाई प्राथमिकतामा राख्दै ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । आसान्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आज सार्वजनिक गरिएको उक्त प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियताको सम्वद्र्धन र भौतिक पूर्वाधार निर्माणका रणनीतिक योजना समेटिएका छन् ।

नेपाली कम्युनिस्ट आन्दोलनको ७६ वर्ष लामो इतिहास र एमालेको मूलधारको भूमिकालाई स्मरण गर्दै अध्यक्ष ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विगतका अधुरा कामलाई पूर्णता दिने सङ्कल्प व्यक्त गर्नुभएको छ ।

प्रतिबद्धता पत्रमा सुशासनलाई लोकतन्त्रको सुन्दरताका रूपमा व्याख्या गर्दै राजनीतिक अस्थिरताका कारण उत्पन्न चुनौतीलाई चिर्दै देशमा भ्रष्टाचारमुक्त प्रशासन र पारदर्शी कार्यशैली अवलम्बन गर्ने उल्लेख गरिएको छ । अध्यक्ष ओलीले नेपालको भू–परिवेष्ठित अवस्थालाई कूटनीतिक माध्यमबाट ‘भू–जडित’ मुलुकमा रूपान्तरण गर्न छिमेकी राष्ट्रहरूसँगको व्यापार तथा पारवहन सन्धिहरूलाई प्रभावकारी बनाइने कुरामा जोड दिनुभएको छ ।

झापा क्षेत्र नम्बर ५ को स्थानीय विकासका लागि आर्थिक वर्ष ०८२÷८३ मा विनियोजित भई रोकिएका सम्पूर्ण योजनालाई पुनःसञ्चालन गर्ने र भूमिहीन, दलित तथा सुकुम्बासी नागरिकलाई प्राथमिकताका साथ जग्गाधनी प्रमाण–पुर्जा उपलब्ध गराउने प्रतिबद्धता एमालेले अघि सारेको छ ।

स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा स्वास्थ्य बिमाको दायरा फराकिलो बनाउने, विपन्न आवास कार्यक्रमलाई निरन्तरता दिने र आदिवासी, जनजाति, सन्थाल तथा मुस्लिम समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

कृषि क्षेत्रलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै सिँचाइको पर्याप्त व्यवस्था गर्ने तथा उत्पादित वस्तुको भण्डारणका लागि शीतभण्डार निर्माण गर्ने लक्ष्य राखिएको छ । पूर्वाधार विकासतर्फ दमक र गौरादह बजारको आधुनिकीकरण, गौरीगञ्जमा स्मार्ट सिटी परियोजनाको कार्यान्वयन र हुलाकी मार्गअन्तर्गत माई नदीको पुल निर्माणलाई पूर्णता दिने विषयलाई प्राथमिकता दिइएको छ ।

त्यस्तै, दमक–चिसापानी–रवि सडकको निर्माण सम्पन्न गर्ने, ग्राभेल सडकलाई कालोपत्र गर्ने र विभिन्न खोलामा तटबन्धन गरी खेतीयोग्य जमिनको संरक्षण गर्ने योजना एमालेले सार्वजनिक गरेको छ ।

शिक्षा र खेलकुदका क्षेत्रमा कमल–५ स्थित आदिवासी रङ्गशालालाई आधुनिकस्तरमा निर्माण गर्ने, प्रत्येक पालिकामा सुविधा सम्पन्न खेल मैदान बनाउने र सामुदायिक विद्यालय तथा क्याम्पसको भौतिक एवम् शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

साथै, दमक सभाहल सञ्चालन, प्रादेशिक आयुर्वेदिक अस्पतालको स्तरोन्नति र वाल्मीकि आश्रम एवम् साधु होली जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरी स्थानीय पर्यटनलाई प्रवर्द्धन गरिने अध्यक्ष ओलीको प्रतिबद्धता पत्रमा समेटिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...