काठमाडौँ, ५ फागुन । कार चालकले पैदलयात्रु कुटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै सो कार चालक पक्राउ परेका छन् ।
आज बिहानैदेखि भाइरल भएको उक्त भिडिओबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी गरी पक्राउ गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यसरी कुटपिट गर्ने व्यक्ति बैतडी घर भइ हाल बालुवाटार बस्ने ४२ वर्षीय पारस बम रहेको र उनलाई नियन्त्रणमा लिएको बताउनुभयो ।
पक्राउ परेका व्यक्ति पेसाले इञ्जिनियर रहेको खुलेको र उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाइएको उहाँले जानकारी दिनुभयो । उनले काठमाडौँको चक्रपथ क्षेत्रमा गाडी रोकिएका बेला कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई कुटेको भिडिओमा देखिएको छ ।