- खेमराज सापकोटा
विराटनगर, ४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन खोटाङलाई बहुपक्षीय प्रतिस्पर्धाको केन्द्र बनाएको छ । कोशी प्रदेशको पहाडी जिल्ला त्यसमाथि एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङलामो समयदेखि नेपाली काङ्ग्रेस र नेकपा (एमाले)को मुख्य प्रतिस्पर्धी बनेको जिल्ला हो ।
२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा भने काङ्ग्रेस र तत्कालीन नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनका उम्मेदवार राम कुमार राई निर्वाचित हुनुभएको थियो । राईले जिल्लामा एमालेको दबदबा तोड्नुभएको थियो ।
जेनजी आन्दोलनपछिको यो निर्वाचनमा भने वैकल्पिक राजनीतिक धाराहरूले पनि आफ्ना असर देखाउने प्रयास गरिरहेका छन् ।
काङ्ग्रेस–एमालेः परम्परागत शक्ति र सङ्गठनको बल
नेपाली काङ्ग्रेसका उम्मेदवार वीरकाजी राई सरल, शालिन र मिलनसार छविका नेताका रूपमा परिचित हुनुहुन्छ । पार्टीभित्र सर्वस्वीकार्य उम्मेदवारका रूपमा उहाँ घरदैलो अभियान, गाउँ–गाउँमा मतदाता भेटघाट र विकास अजेन्डा लिएर मैदानमा हुनुहुन्छ ।
जिल्लाकै जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्ट काङ्ग्रेसले जिल्लामा एकता र सङ्गठनात्मक मजबुती कायम गर्दै प्रत्यक्ष निर्वाचनमा जित निकाल्ने रणनीति अघि सारेको बताउनुहुन्छ । नेपाल न्युज बैङ्कसँगको कुराकानीका क्रममा उहाँले काङ्ग्रेसले गरेका विकासका कामले नै जिल्लामा जित निश्चित रहेको दाबी गर्नुभयो ।
त्यसैगरी, नेकपा एमालेबाट देजविक्रम राई लामो राजनीतिक अनुभव र सङ्गठनात्मक पकड बोकेका नेताका रूपमा परिचित हुनुहुन्छ । स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मको राजनीतिक समीकरणमा उहाँ स्थायित्व र निरन्तरताको प्रतीक बन्नुभएको छ । एमालेको बलियो सङ्गठन र २०७९ को समानुपातिक अग्रतालाई उहाँ प्रत्यक्ष मतमा रूपान्तरण गर्ने लक्ष्यमा हुनुहुन्छ ।
गठबन्धनका बाबजुत प्रत्यक्षमा निर्वाचन जित हासिल गर्न नसके पनि एमाले जिल्लामा समानुपातिक मतमा पहिलो रहेको छ ।
वैकल्पिक उम्मेदवार र युवा नेतृत्व
अर्थ–राजनीतिज्ञ हरि रोक्का झण्डै चार दशक काठमाडौँमा बिताएर गाउँ फर्किनुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रहनुभएका उहाँ गाउँमै बसोबास गर्दै विकास, युवा रोजगारी र स्थानीय उत्पादनको प्रवद्र्धनलाई प्राथमिकता दिँदै मतदाता भेटघाटमा हुनुहुन्छ । उहाँका विचार र नीतिप्रति ग्रामीण र युवा मतदाता आकर्षित छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव खोटाङमा सीमित देखिएको छ । नेपाल न्युज बैङ्कले गरेको सम्पर्कका आधारमा जिल्लाको संगठन विस्तार र स्थायी संरचना कमजोर नै रहेकाले रास्वपाका उम्मेदवारलाई झड्का दिइरहेको छ । रास्वपाले यस क्षेत्रमा रुद्र गिरिलाई उम्मेदार बनाएको छ । यो निर्वाचनमा दुईजना स्वतन्त्रसहित १५ उम्मेदार चुनावी मैदानमा छन् ।
२०७९ को निर्वाचन तथ्यांक
गत प्रतिनिधि सभा निर्वाचनमा खोटाङ–१ को प्रत्यक्ष मत परिणाम अनुसार तत्कालीन नेकपा (माओवादी केन्द्र)का गठबन्धन उम्मेदार राम कुमार राईले ३१ हजार ३५१ मत ल्याएर निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले)का विशाल भट्टराईले २८ हजार ६८२ मत ल्याएर दोस्रो हुनुभएको थियो ।
समानुपातिक मततर्फ भने एमालेले २४ हजार २७१ मत, काङ्ग्रेसले १८ हजार ६७२ मत, तत्कालीन नेकपा (माओवादी केन्द्र)ले ११ हजार ८४५ मत, नेकपा (एकीकृत समाजवादी)ले ३ हजार ३६३ मत, जनता समाजवादी पार्टी, नेपालले २ हजार २४८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी १ हजार ४९७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी १ हजार २५५ मत ल्याएका थिए । अरु दलहरुले हजार मत कटाउन सकेका थिएनन् ।
यो तथ्याङ्कअनुसार पनि खोटाङमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ काङ्ग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन् भने वैकल्पिक मतले त्रिकोणीय प्रतिस्पर्धा सिर्जना गर्ने देखिएको चर्चा हुने गरेको छ । –नेपाल न्युज बैङ्क