सर्लाही, ४ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय मलङ्गवामा मतपत्रबाहेकका सम्पूर्ण निर्वाचन सामग्री आइपुगेको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिनुभयो ।
आयोगबाट प्राप्त हुने र जिटुजी प्रक्रियामार्फत खरिद गरिएका सबै सामग्री सुरक्षाकर्मीको उपस्थितिमा प्याकिङ भइरहेको छ । प्याकिङ सकिएपछि ती सामग्री मतदानअघि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइनेछ । चारवटै निर्वाचन क्षेत्रका मतपत्र भने फागुन १० गतेपछि मात्र आउने जनाइएको छ ।
जिल्लाभर चार निर्वाचन क्षेत्रमा ३१२ मतदानस्थलअन्तर्गत ६२८ मतदान केन्द्र तोकिएका छन् । यसपटक ३ हजार ७६८ कर्मचारी खटाइनेछन् ।
प्रत्येक केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र तीन सहायक कर्मचारी रहनेछन् भने आवश्यकताअनुसार दुई स्थानीय सहयोगीसमेत खटाउन सकिने मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताउनुभयो ।
कर्मचारीलाई केन्द्र तोक्ने र तालिम दिने काम अघि बढेको छ । निर्वाचन सुरक्षाका लागि पनि तयारी सुदृढ गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार काठमाडौँसहित विभिन्न गणबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप जनशक्ति परिचालन भइरहेको छ ।
सरकारी संयन्त्र तयारीमा जुटेसँगै जिल्लामा चुनावी चहलपहल बढ्दै गएको छ ।