ड्रोनमार्फत पत्ता लाग्यो दुर्घटनाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

0

काठमाडौँ, ४ फागुन । माघ २५ गतेदेखि सम्पर्कविहीन रहेका ४० वर्षीय निरेन काफ्ले मृत अवस्थामा फेला परेका छन् । परिवारले माघ २६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा उनी हराएको भन्दै निवेदन दिएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो ।

खोजीका क्रममा प्रहरीले शुक्रबार (फागुन १) कान्ति लोकपथ क्षेत्रका विभिन्न भिरालो तथा खोचहरूमा ड्रोन क्यामेरा प्रयोग गरेको थियो । सोही क्रममा ड्रोन अपरेटर टार्जन लिम्बूले टीकाभैरव र माल्टागाउँ जोडिने ठुलो खोचको भिरमा एउटा गाडी अडकिएको देख्नुभएको थियो ।

अपरेट लिम्बूले भन्नुभयो,“प्रहरीसँगको सहकार्यमा मैले ड्रोनमार्फत शव खोजीको काम गरेको थिए । ड्रोनबाट हेर्दा सडकभन्दा ३०० मिटर तल भिरमा गाडी खसेको देखेँ ।”

ड्रोनबाट प्राप्त दृश्यका आधारमा उक्त गाडी दुर्घटनामा परेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काफ्लेको गाडी करिब ३०० मिटर तल भिरमा खसेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार माघ २५ गतेदेखि सम्पर्कविहीन भएका काफ्लेको खोजी कार्यका क्रममा फागुन १ गते ड्रोनमार्फत दुर्घटनास्थल पत्ता लगाइएको हो । हाल शव परिवारले बुझिसकेको छ भने गाडी भने दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसरले नेपाल न्युज बैङ्कसँग भन्यो, “माघ २५ गतेदेखि सम्पर्क विहीन हुनुभएको रहेछ । २६ गते मानिस हराएको भन्दै परिवारले निवेदन दिएको थियो । खोजी कार्य गर्दा फागुन १ गते हामीले ड्रोन प्रयोग गरेर दुर्घटना भएको स्थान पत्ता लगायौँ । अहिले शव परिवारले बुझिसकेको छ । गाडी भने दुर्घटनास्थलमै छ । के कारणले दुर्घटना भयो त्यो खुल्न सकेको छैन ।”

नेपालमा ड्रोनको प्रयोगबाट यस्ता विभिन्न कामलाई तीव्र रुपमा अगाडि बढाउन सकिन्छ भन्ने कुरा यस घटनाले पनि देखाएको छ ।

नेपालमा सरकारले ड्रोनसम्बन्धी कार्यविधि (अनम्यान्डेड एरियल भेइकल फ्लाइट प्रोसेड्युर) जारी गरेर ड्रोन चलाउनका लागि अनुमति लिनै पर्ने व्यवस्था गरेको छ ।

पूर्व स्वीकृति बिना ड्रोन क्यामराको उपयोग गरी तस्बिर वा भिडिओ दृष्य रेकर्ड गरे नागरिक उड्डयन प्राधिकरण ऐन र विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुने प्रावधानसहित गृह मन्त्रालयले निर्देशिका बनाएको छ ।

सही नीति नियम तथा योजनाका बलमा यस्ता नयाँ प्रविधिको बढीभन्दा बढी प्रयोग गरेर देशलाई द्रुत गतिमा अघि बढाउन सम्भव छ ।

संसारले विज्ञानलाई चुनौती दिँदै अगाडि बढिरहेको बेलामा भएका प्रविधिलाई पनि सरकारले सही रूपमा अँगाल्न सकेको छैन । सरकारले ड्रोनप्रतिको आफ्ना नीति तथा व्यवस्थामा संशोधन गर्नु आवश्यक देखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...