- खगेन्द्र भट्टराई
सुर्खेत, २ फागुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कर्णालीका नौ पूर्वमन्त्रीहरु चुनावी मैदानमा होमिएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चारजना मन्त्री र पाँच जना सङ्घीय सरकारका मन्त्रीहरु छन् ।
पूर्वअर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्ति बहादुर बस्नेत, पूर्वपर्यटन मन्त्री खड्क बहादुर विश्वकर्मा, पूर्वसहरी विकासमन्त्री धन बहादुर बुढा र कर्णाली प्रदेशका पूर्वमूख्यमन्त्री तथा पूर्वऊर्जामन्त्री महेन्द्र बहादुर शाही चुनावी मैदानमा हुनुहुन्छ ।
त्यस्तै, कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री नरेश भण्डारी जुम्लाबाट, गोपाल शर्मा रुकुम पश्चिमबाट, चन्द्र बहादुर शाही मुगुबाट र अम्मर बहादुर थापा दैलेख क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुभएको छ । यी सबै पूर्वमन्त्रीहरु माओवादी र एकीकृत समाजवादी पृष्ठभूमिका हुन् ।
जनार्दन शर्मा र गोपाल शर्माः एक हार्ने सुनिश्चित
तत्कालीन नेकपा (माओवादी)का प्रभावशाली नेता जनार्दन शर्मा र उहाँकै विश्वास पात्र गोपाल शर्मा रुकुम पश्चिमबाट चुनावी प्रतिपस्पर्धामा हुनुहुन्छ । पूर्वअर्थमन्त्री जनार्दन र कर्णाली प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री गोपाल शर्मा पुरानो माओवादी पार्टीका नेता हुन् । कुनै समय नेकपाका संयोजक प्रचण्डका विश्वास पात्र मानिएका शर्मा आगामी चुनावमा भने आफ्नै कार्यकर्ता गोपाल शर्मासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
माओवादीको आधारक्षेत्र मानिने रुकुम पश्चिममा जनार्दनको आफ्नै पनि प्रभाव राम्रो छ । जनार्दनको प्रभावकै कारण २० वर्षदेखि लगातार तत्कालीन माओवादीले जित्दै आएको बताइन्छ । प्रचण्डको विश्वासकै कारण कर्णालीमै उहाँको प्रभाव रहन्थ्यो । त्यसैले त कर्णाली सरकारको मुख्यमन्त्री जो भए पनि उहाँकै इशारामा चल्ने समय थियो कुनै बेला । यतिसम्म कि महेन्द्र बहादुर शाही मुख्यमन्त्री हुँदा उहाँले कर्णाली प्रदेश सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्र बनाएर जनार्दनलाई संयोजक बनाउनुभएको थियो ।
रुकुम पश्चिममा जनार्दनको नाम लिएर जो कोही चुनावमा गएपनि जितिन्छ भन्ने प्रभाव बनाउनुभएको थियो उहाँले । तर, अहिले उहाँ आफै चुनाव कसरी जित्ने भन्ने रणनीतिमा हुनुहुन्छ । उहाँले तत्कालीन पार्टी छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावमा होमिनुभएको छ ।
रुकुम पश्चिममा कुनै बेलाका आफ्नै कार्यकर्ता गोपाल शर्मासँग भिड्दै छन् जनार्दन । गोपाल शर्मा पनि कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसक्नुभएको छ ।
जनार्दन र गोपाल शर्माको प्रतिस्पर्धाले एक शर्माले हारको तिखो अनुभव चाख्नु पर्ने छ । यहाँबाट जसले जित्दा पनि एक जना पूर्वमन्त्रीले हार भोग्नु पर्ने छ । दुवै जना पूर्वमाओवादी पृष्ठभूमिकै भएको कारण रुकुम पश्चिमको परिणाम आङ्कलन गर्न नसकिए पनि एमालेसँगको समीकरणले जनार्दनलाई बलियो बनाएको चर्चा चल्न थालेको छ ।
रुकुम पश्चिममा जनार्दनले पार्टी परित्याग गरेसँगै एक निर्वाचन क्षेत्रको जित पनि गुमाउनुपर्ने भय नेकपा वृत्तमा चलेको छ । आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेकपाले आफ्नो सबै शक्ति परिचालित गरेको भए पनि जनार्दनलाई हराउन सकिँदैन भन्ने निष्कर्षमा पुगेको नेकपाका एक नेताले बताए ।
शक्ति बहादुर बस्नेतः पूर्वगृह मन्त्री
पूर्व गृहमन्त्री भइसक्नुभएका शक्ति बहादुर बस्नेत जाजरकोटबाट चुनावी मैदान हुनुहुन्छ । नेपाली काङ्ग्रेसका खडक बहादुर बिसीसँग बस्नेतको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । माओवादी शान्ति प्रक्रियामा आएयता जाजरकोटबाट लगातार चुनाव जित्दै आउनुभएका बस्नेतलाई उहाँको पार्टीका नेताहरुलाई मिलाउनु पर्ने चुनौती छ । चुनावमा टिकटका आकाङ्क्षी रहेका गणेशप्रसाद सिंहले पार्टी परित्याग गरेको घोषणा गरेपछि बस्नेतलाई चुनाव जित्न सहज नभएको स्थानीयको आंकलन छ ।
सधैँ टिकट ल्याउन सफल भएपनि यो पटक जाजरकोटबाट चुनाव जित्न सहज नभएको स्थानीय बताउँछन् । उनलाई नेपाली काङ्ग्रेसका खडक बिसी र नेकपा एमालेका डम्मर सिंहले चुनौती दिएका छन् । काँग्रेसका बिसी जिल्लामै बसी रहने युवा भएकोले जनताको रोजाईमा पर्ने काङ्ग्रेसका नेताहरुको दाबी गरेका छन् । पटक पटक चुनाव जितेर पनि जिल्लाको बिकासमा खासै केही गर्न नसकेका बस्नेतलाई आसन्न चुनाव जित्न निकै गाह्रो हुने मतदाताको अनुमान छ ।
धन बहादुर बुढाः पूर्वसहरी विकासमन्त्री
पूर्वसहरी विकासमन्त्री धन बहादुर बुढा डोल्पाबाट चुनाव लङ्नुभएको छ । तत्कालीन समयमा नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बन्नुभएका बुढा पार्टी एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार हुनुहुन्छ । रोचक त के छ भने उहाँले आफ्नै सहोदर दाजु नेपाली काँग्रेसका सहमहामन्त्री कर्ण बहादुर बुढासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यसअघि नेपालीका काङ्ग्रेस र तत्कालीन माओवादीसँगको गठबन्धनका कारण एकीकृत समाजवादीको कोटामा पर्न सफल भएका धन बहादुरलाई उहाँकै दाजु कर्णबहादुर हराउने आङ्कल स्थानीयको छ ।
प्रकाण्डको पुनरागमनले महेन्द्रलाई हैरानी
तत्कालीन युद्धको बेला खड्क बहादुर विश्वकर्मा युद्धको योजनाकार हुनुहुन्थ्यो । त्यहीबेला महेन्द्र बहादुर शाही जनमिलिसियामा भर्ना भएर जनयुद्धमा सहभागि भए । महेन्द्र बहादुर शाही जनयुद्धको प्रभावबाट शान्ति प्रक्रियामा पुग्दासम्म छापामार हुँदै डिभिजन कमाण्डर बन्नुभयो भने खड्क बहादुर तत्कालीन अन्तरिम कालमा विधायक बनेर संसद छिर्नुभयो ।
प्रचण्डका विश्वास पात्र प्रकाण्ड ०६४को संविधान सभापछि प्रचण्डको मन्त्रीपरिषद्मा मन्त्री पनि बन्नुभयो । त्यही बेला माओवादी लडाकू शिविरमा रहेका महेन्द्र २०६८ सालमा माओवादी विभाजनबाट प्रकाण्ड मोहन वैद्य नेतृत्वमा लागेपछि राजनितिमा आउनुभएका महेन्द्र यो पटक कालिकोटबाट आमने सामने भएका छन् । नेकपा (माओवादी)का प्रवक्ता समेत रहनुभएका प्रकाण्डले उम्मेदवारी दर्ता गराएसँगै कालिकोटको राजनितिक माहोल फेरिने आङ्कलन गरिएको छ ।
०७० सालको संविधान सभा निर्वाचन यता कहिले सङ्घमा र कहिले प्रदेशमा चुनाव लडेर जित्ने अवसर पाएका महेन्द्रका लागि यति बेला चाहिँ जित सहज हुने छैन । माओवादीभित्रको तीव्र असन्तुष्टि, प्रकाण्डको पुनरागमन र महेन्द्रको लामो संसदीय यात्राले मतदातालाई बनाएको निराशाले कालिकोटको परिणाम काँग्रेस एमालेको पोल्टामा पर्न सक्ने अनुमान पनि गरिएको छ ।
यी पूर्वमन्त्रीहरुलाई सहज छैन
कर्णाली प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री अमर बहादुर थापा दैलेख निर्वाचन क्षेत्र नम्बर एकबाट, पूर्वभूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री चन्द्र बहादुर शाही मुगुबाट र पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी जुम्लाबाट चुनावी मैदानमा होमिनुभएको छ ।
०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काङ्ग्रेस र माओवादी, समाजवादीसँगको गठबन्धनबाट दैलेख क्षेत्र नम्बर एकबाट झिनो मतान्तरले चुनाव जित्नुभएका अमर थापा आगामी निर्वाचनमा पनि उम्मेदवार बन्नुभएको छ । उहाँलाई नेपाली काङ्ग्रेसकी बासना थापाले चुनौती दिँदै हुनुहुन्छ ।
माओवादी र एकीकृत समाजवादीको कमजोर सङ्गठन, यसअघि पनि पटक पटक चुनाव जितेर पनि जिल्लाको विकासका लागि केही नगरेको आरोपकाबिच नेपाली काङ्ग्रेसको युवा उम्मेदवार बासना थापा र एमालेका रविन्द्र शर्माले चुनौती बनेका छन् ।
जुम्लाका पूर्वमन्त्री नरेश भण्डारीका लागि नेपाली काङ्ग्रेसका पुराना नेता दीप बहादुर शाही, राप्रपाका चर्चित नेता ज्ञान बहादुर शाही र रास्वपाकी विनिता कठायतको प्रतिस्पर्धाबिच जित निकाल्न सहज हुने छैन । यसभन्दा अगाडिका परिणाम हेर्ने हो भने जुम्ली जनताले मत दोहोर्याएको देखिँदैन । मुगुका पूर्वमन्त्री चन्द्र बहादुर शाहीले नेपाली काँग्रेसका खडकराज शाहीसँग तीव्र प्रतिस्पर्धा हुने छ । –नेपाल न्युज बैङ्क