सङ्खुवासभाले सिङ्गो नेपाललाई पाल्न सक्छ, त्यसमा म काम गर्न चाहन्छु : डा.अर्जुन कार्की

11

खाँदबारी, १ फागुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का तर्फबाट सङ्खुवासभाका उम्मेदवार डा.अर्जुन कार्कीले सङ्खुवासभाले सिङ्गो नेपाललाई पाल्न सक्ने दाबी गर्नुभएको छ ।

हालै चुनावी अभियानका क्रममा माङ्सिमा र मकालु क्षेत्रमा पुगेर स्थानीयहरुसँग साक्षात्कार गर्दै उहाँले भन्नुभयो, “म सङ्खुवासभालाई देश तथा विदेशमा चिनाएर जिल्लाबासीका निम्ति दुःख–सुखमा साथ दिन चाहन्छु । हाम्रो जिल्लाले सिंगो नेपाललाई पाल्न सक्छ । सङ्खुवासभा जलविद्युत्‌को राजधानी हो, यहाँको जलविद्युत्‌बाट सिङ्गो नेपाललाई पाल्न सक्छौँ भन्नेमा विश्वास दिलाउन चाहन्छु । नेपाल बनाउने काममा म भूमिका निर्वाह गर्न चाहन्छु, यसका लागि मलाई विजयी गराउनुहोला ।”

विगतका काम, सामाजिक विकासमा योगदान र वर्षौँदेखिको सम्बन्धलाई स्मरण गर्दै उहाँले चुनावका बेला मात्रै होइन, वर्षौँदेखिको सहकार्य र विश्वासको सम्बन्ध कायम राख्ने पनि बताउनुभयो ।

आफू जिते पनि हारे पनि सधैँ जनताको साथमै रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले विकास, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकता दिने प्रतिबद्धता पनि जनाउनुभयो ।

एमालेबाट उम्मेदवार बन्नुभएका डा.कार्की नेपालका अनुभवी कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुनुहुन्छ । सङ्खुवासभामा जन्मे हुर्केका उहाँले तीन दशकभन्दा बढी समयदेखि गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार र दिगो विकासका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

डा.कार्कीले नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिका तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका विभिन्न देशहरूमा राजदूतका रूपमा सेवा गर्दै नेपालको सार्वभौमिकता, कूटनीतिक सम्बन्ध र राष्ट्रिय हित प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिनुभएको छ ।

साथै उहाँले राष्ट्रिय विकास परिषद्को सदस्य रहिसकेका उनले सन् २००६ मा नेपालमा लोकतन्त्र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय स्तरमा सक्रिय पैरवी गर्नुभएको थियो । गरिबी, असमानता, भूमि अधिकार, कृषि सुधार, सामाजिक समावेशीकरण तथा शान्ति निर्माणका विषयमा उनले सशक्त आवाज उठाउँदै आउनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...