कोशी प्रदेशमा के सन्देश दिँदैछन् कुलमान ?

15

विराटनगर, १ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यतिबेला कोशी प्रदेशका विभिन्न जिल्लामा चुनावी अभियानमा सक्रिय हुनुहुन्छ । बुधबार झापाबाट सुरू भएको उहाँको अभियान विर्तामोड, दमक, मोरङको पथरी, सुनसरीको धरान–इटहरी हुँदै विराटनगर आइपुगेको हो ।

अभियानका क्रममा उहाँले पाँच वर्षभित्र देखिने परिणाम दिने राजनीतिक अभ्यास अघि सार्ने सन्देश दिनुभएको छ । ऊर्जा क्षेत्रमा हासिल गरेको अनुभवलाई राजनीतिक पुँजीका रूपमा प्रस्तुत गर्दै घिसिङले अब देशव्यापी रूपान्तरणको लक्ष्य राखेको बताउनुभयो ।

विराटनगरस्थित मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा बिहीबार साँझ उहाँले सुशासन, उत्पादनमुखी अर्थतन्त्र र युवा रोजगारीलाई आफ्नो राजनीतिक अजेन्डाको केन्द्रमा राखेको स्पष्ट पार्नुभयो । “ऊर्जा क्षेत्रमा अँध्यारो हटायौँ, अब राज्य सञ्चालनमा देखिएको अँध्यारो हटाउने समय आएको छ,” उहाँले भन्नुभयो, “पाँच वर्षलाई परिणाम दिने निर्णायक अवधि बनाउँछौँ ।”

उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच देशभर संयुक्त उम्मेदवारी भएको जानकारी दिँदै उहाँले मोरङ–६ मा २५ वर्षीय वसन्त बुढाथोकी उम्मेदवार रहेको उल्लेख गर्नुभयो । युवा नेतृत्वलाई अघि सारेर परम्परागत राजनीतिक संस्कारलाई चुनौती दिने रणनीतिमा पार्टी रहेको उहाँको संकेत थियो ।

घिसिङले भ्रष्टाचार, बेरोजगारी र घट्दो उत्पादनशीलतालाई देशका मुख्य समस्या औँल्याउँदै कडा नीतिगत सुधारमार्फत समाधान खोजिने बताउनुभयो । उहाँले जेनजी पुस्ताको आकाङ्क्षा बोकेको शक्ति रूपमा पार्टीलाई प्रस्तुत गर्दै युवाहरूको सक्रिय सहभागिताबाट दीर्घकालीन परिवर्तन सम्भव हुने दाबी गर्नुभयो । ऊर्जा, पूर्वाधार, औद्योगिक विकास र आर्थिक आत्मनिर्भरताका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा मोरङ–६ का उम्मेदवार वसन्त बुढाथोकीले वर्तमान राजनीतिक अवस्थाप्रति नागरिक निराश रहेको उल्लेख गर्दै आफूले सुशासन र रोजगारीको स्पष्ट खाका प्रस्तुत गरेको उहाँले बताउनुभयो ।

कोशी प्रदेशका विभिन्न सहरमा पुगेर घिसिङले आफ्नो विगतको कार्यअनुभवलाई भविष्यको राजनीतिक योजनासँग जोड्ने प्रयास गरिरहनुभएको छ । पाँच वर्षभित्र देखिने परिवर्तनको प्रतिबद्धतासहित उहाँ मतदातामाझ पुगिरहनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...