नेपाल इङ्गल्यान्डसँग पराजित

18

काठमाडौँ, २५ माघ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाल दुई पटकको विश्वकप विजेता इङ्गल्यान्डसँग पराजित भएको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा इङ्गल्यान्डसँग नेपाल चार रनले पराजित भएको हो । झिनो अन्तरले पराजित हुदाँ नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गर्ने अवसरबाट नेपाल बञ्चित भयो ।

जितका लागि १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १८० रनमा समेटियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रनको योगदान दिए र उनले २९ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ४४ रन जोडे ।

यसैगरी कप्तान रोहित पौडेल र लोकेश बमले समान ३९/३९ रन बनाए भने कुशल भुर्तेलले २९ रन जोडे । आरिफ शेखले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । आसिफ शेख सात रनमा आउट भए भने गुल्सन झा एक रनमा आउट भए ।

बलिङमा इङ्गल्यान्डका लियम डसनले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको इङ्गल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको थियो ।

इङ्गल्यान्डका लागि ज्याकब बेथेल र कप्तान ह्यारी ब्रुकले अर्धशतक बनाए । ज्याकबले ३५ बलमा चार चौका र चार छक्काको सहयोगमा सर्वाधिक ५५ रन जोडे । यसैगरी कप्तान ह्यारीले ३२ बल खेल्दै चार चौका र तीन छक्का प्रहार गर्दै ५३ रन बनाए । विल ज्याक्सले अविजित ३९ रनको योगदान दिँदा जस बटलरले २६ रन बनाए ।

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान दुई/दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले समान एक/एक विकेट झारे ।

शनिबारदेखि सञ्चालन भएको विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्गल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छ । नेपालले आफ्नो दोस्रो खेल यही माघ २९ गते इटालीसँग खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...