- प्रमिला कार्की
काठमाडौँ, २४ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का काठमाडौँ क्षेत्र नम्बर ३ का उम्मेदवार निरज लामाले आफू परिवर्तनका अजेन्डालाई व्यवहारमा उतार्न उम्मेदवारी दिएको बताउनुभएको छ ।
नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले २०६२÷६३ को जनआन्दोलनदेखि निरन्तर बामपन्थी राजनीतिमा सक्रिक रहेको उल्लेख गर्दै देशमा देखिएको द्वन्द्व, अन्योल र असमानताकै बिच राजनीतिमा होमिएको बताउनुभयो ।
लामाका अनुसार सशस्त्र द्वन्द्वको कारण, जनताको पीडा र राजनीतिक परिवर्तनका मुद्दाले आफूलाई राजनीतितर्फ आकर्षित ग¥यो । धर्मनिरपेक्षता, सङ्घीयता, गणतन्त्र, समावेशी र समानुपातिक प्रतिनिधित्वजस्ता अजेन्डाबाट प्रेरित भइ जनआन्दोलनपछि निरन्तर राजनीतिमा लागेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “अब चुप लागेर बस्ने समय थिएन । समाज परिवर्तनको लागि मैले केही न केही गर्नुपर्छ । मेरो क्षेत्रलाई देशको नीतिमा केही न केही परिवर्तन गर्नुपर्छ भन्ने कुरामा आत्मबोध भएको छ । सोही कारण मैले टिकट पनि पाए र मेरो क्षेत्रका मतदातालाई माझ गएर आफूले आफूलाई साबित गर्ने अवसर मिल्यो ।”
उम्मेदवार लामाले पार्टीले आफूलाई अघि सारेर युवालाई अवसर दिएनन् भन्ने गुनासोलाई चिरेको धारणा राख्नुभयो । युवामाथि भरोसा र चाहना राख्नेहरुका लागि एउटा आशाको केन्द्र बनेर आफू आएको उहाँको भनाइ छ । आफूले निर्वाचन जित्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “युवाले अवसर पाएनन् भन्ने गुनासो थियो, अहिले त्यो गुनासोलाई तोड्ने अवसर आएको छ । मतदाताले मलाई विश्वास गर्नुहुन्छ भन्नेमा आशावादी छु । एउटा किसिमको लडाइँ जिति पनि सकेजस्तो लाग्छ । किनभने सधैँभरि युवाले पाएनन्, पार्टीले युवालाई अवसर दिएन भन्ने आरोपबाट पार्टीले मुक्ति पाएको छ । मैले जितिसकेको छु, अब मतदाताले साँच्चिकै जिताउनु पर्नेछ ।”
युवा युवा भन्न चाहनेहरुको लागि आफू एउटा आशाको केन्द्र भएको उहाँले बताउनुभयो । “आशा मर्न दिनु हुँदैन । मतदाताहरुले पूर्ण विश्वास गर्नुहुन्छ । म चुनाव जित्छु भन्नेमा सतप्रतिशत विश्वस्त छु,” उहाँले भन्नुभयो ।
उहाँले नीति र अजेन्डाबारे बोल्दै प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद्, संघीयता र समावेशी लोकतन्त्र आफ्नो मूल राजनीतिक अजेन्डा रहेको स्पष्ट पार्नुभयो । साथै, गत भदौ २३–२४ गते उठेको जनआवाजलाई संसद्मा अझ सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाउनुभयो ।
आफू काठमाडौँ–३ मै जन्मिएको, हुर्किँएको र सबै समुदायसँग नजिकबाट जोडिएको व्यक्ति भएकाले मतदाताले विश्वास गर्ने उहाँको दाबी छ । “म बौद्धमा जन्मिएको, त्यही माटोमा हुर्किँएको मान्छे हुँ,” उहाँले भन्नुभयो, “जनजाति, दलित, खस–आर्य सबैसँग मेरो आत्मीय सम्बन्ध छ ।”
विकास निर्माणतर्फ सङ्केत गर्दै लामाले आफ्नो क्षेत्रमा अझै आधारभूत विकासको आवश्यकता रहेको बताउनुभयो । मूलखर्क, ओख्रेनी, तारेभीरजस्ता क्षेत्रमा भर्खरै मात्र सडक पुगेको बताउँदै उहाँले अब जीवनस्तर उकास्ने खालको विकासमा ध्यान दिने बताउनुभयो ।
बौद्ध स्तुपा, जोरपाटी चोक, गोकर्णेश्वर धाम, सहिद पार्क, सुन्दरीजल, कागेश्वरी धामजस्ता क्षेत्रको संरक्षण, सौन्दर्यकरण र पर्यटन प्रवर्द्धन आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।
भ्रष्टाचार र सुशासनबारे बोल्दै उहाँले नेपाली कम्युनिस्ट पार्टीले ऐतिहासिक रूपमा भ्रष्टाचारविरुद्ध लड्दै आएको दाबी गर्नुभयो । “अरूले बोल्छन्, हामीले गरेर देखाएका छौँ,” उहाँले भन्नुभयो ।
सुशासन कुनै एक नेताले मात्र सम्भव नहुने भन्दै जनप्रतिनिधि र नागरिक सबैको साझा जिम्मेवारी भएको उहाँले बताउनुभयो ।
उम्मेदवार लामाले आगामी निर्वाचनलाई केवल चुनाव नभइ विवेक र चेतनाको परीक्षा भएको उल्लेख गर्दै मतदातालाई तारा चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । “मेरो जित मात्र होइन, क्षेत्र र देशकै जित हुनेछ,” उहाँले भन्नुभयो, “ममाथि विश्वास गरेर अवसर दिनुस्, म त्यो विश्वासलाई निराश हुन दिने छैन ।” –नेपाल न्युज बैङ्क