पुराना मत पेटिका सफा गरेर पठाउने तयारी

13
  • अञ्जली थापा

हेटौँडा, २४ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र पारिएको छ । निर्वाचनका लागि खटिने कर्मचारीदेखि आवश्यक सामाग्रीको तयारी तीव्र पारिएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । विगतको निर्वाचनमा प्रयोग भएका पुराना मत पेटिकालाई सफा गरेर पठाउने तयारी गरिएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुराना मत पेटिकालाई धमाधम सफा गरेर निर्वाचनका लागि तयार गरिएको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो ।

“निर्वाचनका लागि मौजुदा सामाग्री तयारी गरिरहेका छौँ, एउटा मतदान केन्द्रमा ५२ प्रकारका निर्वाचन सामाग्री पठाउनु पर्छ, हामीले तयारी थालिसकेका छौँ,” उहाँले भन्नुभयो । मत पेटिका, मतदाता नामावली, स्वस्तिक छाप, छेकावारा, अनुसूची फारमहरु धमाध तयार पारिरहेको उहाँले जानकारी दिनुभयो । प्रत्येक मतदान केन्द्रमा दुईवटा मत पेटिका प्रयोग हुन्छ, उहाँले थप्नुभयो एउटा जगेडासहित तीन वटा मत पेटिका पठाउने तयारी गरेका छौँ ।

प्रत्यक्ष उम्मेदवारको मतदानका लागि ४३ लिटर क्षमताको मत पेटिका र समानुपातिकका लागि ८५ लिटर क्षमताको मत पेटिका पठाइने उहाँले जानकारी दिनुभयो । मतदान पश्चात मत पेटिकाको बाहिर ढाक्न प्रयोग हुने कपडा समेत आइसकेको जानकारी दिँदै निर्वाचन आयोगबाट सिल, मतदाता नामावली, मत पेटिकामा टाँस्ने स्टिकरलगायतका सामाग्री आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

तीन हजार तीन सय कर्मचारी खटिने
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार ३६६ कर्मचारी खटिने भएका छन् । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार जिल्लाको १७६ मतदान स्थलमा रहेका छन् । ३७४ मतदान केन्द्रमा ३७४ जना मतदान अधिकृत र ३७४ सहायक मतदान अधिकृत खटाइनेछ ।

यसैगरी एक मतदान केन्द्रमा मतदान अधिकृत र सहायक कर्मचारीसहित छ जनाका दरले दुई हजार २४४ जना र प्रति मतदान केन्द्र औसतमा तीन जना स्वयंसेवकसहित एकहजार १२२ जना कर्मचारी खटिने भएको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । “कर्मचारी विवरण सङ्कलनको काम सकियो, सङ्कलित विवरण सम्बन्धित कार्यालयमा रुजुको लागि पठाएका छौँ, माघ २५ गतेभित्र निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारी विवरण बुझाउँछौँ”, निर्वाचन अधिकारी ढकालले भन्नुभयो ।

फागुनको पहिलो सातामा निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी नियुक्ती गरेपछि नियुक्ती भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि फागुन १६ गतेभित्र निर्वाचन तालिम दिइने उहाँले बताउनुभयो । फागुन १८ गतेभित्र निर्वाचन सामाग्री मतदान स्थल जाने कर्मचारीलाई बुझाइने छ उहाँले भन्नुभयो १८ गतेभित्र सबै मतदान केन्द्रमा कर्मचारीहरु पुग्नुहुन्छ ।

निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी निर्वाचनको सुरक्षामा खटिनेछन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि तीनवटै सुरक्षा निकायले छुट्टाछुट्टै गस्ती गर्ने, मतदान अधिकृतको कार्यालयको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षा प्रदान गर्नेछ ।

तोकियो निर्वाचन फोकल पर्सन
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरका लागि १० वटै स्थानीय तहमा निर्वाचन फोकल पर्सन तोकिएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार थाहा नगरपालिकामा अनिल लामिछाने, मकवानपुरगढीमा राम बहादुर घलान, बागमती गाउँपालिकामा प्रकाश चन्द्र, बकैया गाउँपालिकामा आइतराम तामाङ र भिमफेदी गाउँपालिकामा चक्र साउदलाई निर्वाचन फोकल पर्सन तोकिएको हो ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिकामा रमेश बिडारी, राक्सिराङमा गोबिन्द अधिकारी, इन्द्रसरोवरमा धर्मानन्द पन्त, कैलाशमा समिर जोशी र मनहरी गाउँपालिकामा प्रदिप पराजुलीलाई फोकल पर्सन तोकिएको छ । फागुन ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षाका लागि प्रतिवडा एकजना स्वयम् सेवक खटाइने छ ।

निर्वाचन कार्यालयबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न स्वयम सेवक खटाइने भएको हो । स्थानीय तहबाट सिफारिस भएर आएका स्वयम सेवकले वडामा मतदाता शिक्षा सञ्चालन गर्नेछन् । वडा तहमा सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमको निर्वाचन फोकल पर्सनले निगरानी गर्नेछन् ।

बैङ्क खाताका लागि उम्मेदवारलाई पत्राचार
निर्वाचन आयोगको परिपत्र अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी दल र उम्मेदवारहरूले छुट्टै बैङ्क खाता खोल्नुपर्ने भएपछि मकवानपुर जिल्लाका राजनीतिक दल तथा उम्मेदवारहरूका लागि निर्वाचन अभियानसम्बन्धी आर्थिक कारोबार गर्न छुट्टै बैङ्क खाता खोल्न पत्राचार गरिएको छ ।

दुई निर्वाचन क्षेत्रका ४४ जना उम्मेदवारहरुलाई निर्वाचन आयोगबाट माघ २० गते स्वीकृत प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८२ अनुसार बैङ्क खाता सञ्चालन गर्न पत्राचार गरिएको हो ।

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार राजनीतिक दल उम्मेदवारले कार्यविधि लागु हुनुभन्दा अघि निर्वाचन प्रचारप्रसार खर्च प्रयोजनका लागि बैङ्क खाता खोली प्राप्त गरेको रकम कार्यविधि बमोजिम अघिल्लो खाताबाट नयाँ खातामा सार्नुपर्ने उल्लेख छ । यस्तो खाता खोल्नका लागि निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । –रासस

Share This:
सम्बन्धित खबर
Loading...