जनकपुर, २२ माघ । पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गर्नुभएको छ ।
बिहीबार चुनावी प्रचार प्रसारका क्रममा मधेस ओर्लिएका घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीको हुने दाबी गर्नुभयो । उहाँले देशको परिवर्तन गर्न उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनुभयो ।
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनको माग र भावना बोकेर अगाडि बढेको जानकारी दिनुभयो । उहाँले पछिल्लो दिनहरुमा काम गरेर आएका व्यक्तिहरु मिलेर बनेको उज्यालो नेपाल पार्टी देशको परिवर्तन गर्न आएको बताउनुभयो । अबको भोट भनेको भाषण गर्नेको नभइ काम गर्नेहरुको रहेको उहाँको भनाइ थियो । अध्यक्ष घिसिङले केही पार्टीहरुले भाषण गरेर सामाजिक सञ्जाल चलाएर स्थापित भएको बताउनुभयो ।
अध्यक्ष घिसिङले आजबाट मधेश प्रदेशको भ्रमण सुरु गरेको र जनताको घरदैलौ कार्यक्रम अन्तर्गत मधेस प्रदेश आएको जानकारी दिनुभयो । उहाँले प्रदेशको ८ वटै जिल्लामा आफ्नो पार्टीका उम्मेदवारहरु भएकोले सबै सँग भेटघाट एवम छलफल गर्ने उद्देश्यका साथ मधेस झरेको बताउनुभयो ।
अध्यक्ष घिसिङले जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा पूजा पाठ गर्नुभएको छ । त्यस्तै, उहाँले जनकपुरधामस्थित पिडारी चोकमा पार्टीको सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको छ ।