मोरङ–६ मा चुनावी सरगर्मी : शेखरको पुनरागमन र ढकालको दाबीमा रास्वपाले लगाउला ब्रेक ?

9
  • खेमराज सापकोटा 

विराटनगर, २१ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ को राजनीतिक तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । परम्परागत रूपमा ठुला दलको प्रभाव रहेको यो क्षेत्रमा यसपटक नयाँ शक्ति र पुराना अनुहारबिच रोचक प्रतिस्पर्धा देखिने सङ्केत देखिएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइराला विजयी भएको यही क्षेत्रमा उहाँ पुनः चुनावी मैदानमा उत्रिनुभएको छ । कोइराला यतिबेला नियमित घरदैलो अभियानमा हुनुहुन्छ । टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाँले आफूलाई फेरि एकपटक जनमतको कसीमा राख्नुभएको छ ।

नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नम्बर ६ का सदस्य मिलन लुइँटेल काङ्ग्रेस यसपटक संगठनात्मक रूपमा बढी तयारीका साथ निर्वाचनमा होमिएको बताउनुहुन्छ । उहाँका अनुसार कोइराला स्वयंले कार्यकर्तालाई निर्वाचन–केन्द्रित हुन निर्देशन दिँदै आउनुभएको छ ।

तर, पार्टीभित्रै डा.शेखरप्रति पूर्ण सन्तुष्टि भने देखिँदैन । काङ्ग्रेस सुधारको अभियानको नेतृत्व गरेका शेखरको पछिल्लो भूमिकालाई लिएर केही कार्यकर्तामा असन्तोष छ । विशेष महाधिवेशनका बेला देखिएको उहाँको भूमिकाबारे प्रश्न उठ्ने गरेको छ ।

एक कार्यकर्ता भन्छन्, “काङ्ग्रेस बदल्नुपर्छ भन्ने नेताबाट निर्णायक समयमा अपेक्षित भूमिका देखिएन । तर, पनि अहिलेको विकल्पमा हामी उहाँलाई नै जिताउन लागिपरेका छौँ ।”

एमालेको दाउः आलोचक नेता, संगठनको भरोसा
यस क्षेत्रमा नेकपा (एमाले)ले विनोद ढकाललाई उम्मेदवार बनाएको छ । एमालेको महाधिवेशनमा सचिव पदका उम्मेदवारसमेत रहनुभएका ढकाललाई पार्टीले मोरङ–६ को प्रतिनिधि मानेको हो ।

एमाले कार्यकर्ताबिच ढकालप्रति आशा देखिन्छ । ‘यसपाली विनोद दाइले इतिहास रच्नुहुन्छ,’ भन्ने अभिव्यक्ति एमालेका स्थानीय कार्यकर्ताबाट सुनिन्छ ।

ढकाल पार्टीभित्र आलोचनात्मक धारणा राख्ने नेता मानिनुहुन्छ । यही कारण एमाले संस्थापन इतर समूहका नेता–कार्यकर्ता उहाँप्रति थप विश्वस्त देखिन्छन् । वैचारिक स्पष्टता र फरक आवाज नै ढकालको मुख्य चुनावी पुँजी बनेको विश्लेषण छ ।

रास्वपाः सहरी मतदाता र ‘परिवर्तन’ को अपिल
सहरी र ग्रामीण भूगोल (विराटनगरका केही वडा, बुढीगङ्गा गाउँपालिका र सुन्दरहरैचा नगरपालिकाका पनि केही वडा) मिसिएको मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव पनि विस्तार हुँदै गएको देखिन्छ । यस क्षेत्रबाट रास्वपाले रुविना आचार्यलाई उम्मेदवार बनाएको छ ।

विवेकशील साझा पार्टीमार्फत राजनीति सुरु गर्नुभएकी आचार्य सामाजिक र शैक्षिक सेवामा सक्रिय अनुहार हुनुहुन्छ । उहाँलाई पुराना राजनीतिक दलप्रति असन्तुष्ट, विशेषगरी युवा मतदातालाई आकर्षित गर्न सक्ने क्षमताको उम्मेदवारका रूपमा हेरिन्छ । राजनीतिमा नयाँपन र परिवर्तनको भोट आचार्यतर्फ जाने निश्चित रहेको छ ।

अघिल्लो निर्वाचन र वर्तमान समीकरण
अघिल्लो निर्वाचनको तथ्यांकले मोरङ–६ मा काङ्ग्रेस तुलनात्मक रूपमा बलियो रहेको देखाउँछ । समानुपातिकतर्फ काङ्ग्रेसले २३ हजार ७१० मत ल्याउँदा एमालेले १९ हजार ३८९ मत प्राप्त गरेको थियो । तेस्रो स्थानमा रहेको रास्वपाले ११ हजार ५२६ र चौथो स्थानको राप्रपाले १० हजार ६४१ मत ल्याएका थिए । तत्कालीन माओवादी पाँचौँ स्थानमा सीमित थियो ।

२०७९ को निर्वाचनमा काङ्ग्रेस–माओवादी गठबन्धनका उम्मेदवार डा.शेखर कोइरालाले ३५ हजार २२४ मत प्राप्त गर्नुभएको थियो । एमालेका उम्मेदवार लालबाबु पण्डितले २२ हजार ९४६ मत ल्याउँदा रास्वपाका यादवकुमार प्रधानले ९ हजार १४० मत पाउनुभएको थियो ।

मोरङ–६ मा नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि बलियो नै उपस्थितिले यसपटक अनुभव, संगठन र परिवर्तन बिचको प्रतिस्पर्धा देखिन्छ । काङ्ग्रेसको स्थापित मत आधार, एमालेको संगठित संरचना र रास्वपाको बढ्दो आकर्षणले यो क्षेत्रलाई त्रिपक्षीय भिडन्तको केन्द्र बनाएको छ । -नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...