स्वरूप परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने १२ मोटरसाइकल नियन्त्रणमा

11

हेटौँडा, १९ माघ । हेटौँडा बजार क्षेत्रमा स्वरूप परिवर्तन गरी तथा अत्यधिक ध्वनी प्रदूषण गर्ने १२ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८२ साल माघ १७ र १८ गते मोटरसाइकलबाट अस्वाभाविक ठुलो आवाज आउने, साइलेन्सर तथा अन्य पार्ट्स परिवर्तन गरी सवारी साधन चलाइएको भन्ने जनगुनासो प्राप्त भएपछि विशेष चेकिङ अभियान सञ्चालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा विभिन्न ब्राण्डका १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो । ती मोटरसाइकललाई यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ बमोजिम कसुरमा आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय हेटौँडा पठाइएको प्रहरीले जनाएको छ ।

प्रचलित कानुनअनुसार सवारी साधनको स्वरूप परिवर्तन,अवैध साइलेन्सर प्रयोग तथा ध्वनी प्रदूषण गर्ने गरी सवारी चलाएमा कसुरको प्रकृति अनुसार ५ सय रूपैयाँदेखि ५ हजार रूपैयाँसम्म जरिबाना, सवारी साधन अस्थायी रूपमा नियन्त्रण (होल्ड) तथा मूल स्वरूपमा फर्काएपछि मात्र फिर्ता गरिने व्यवस्था रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । आवश्यकता अनुसार दोहोरिएको कसुरमा थप कडा कारबाहीसमेत हुने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिआइजी पुष्कर बोगटीले सार्वजनिक स्थानमा ध्वनी प्रदूषण हुने गरी सवारी साधन चलाउँदा सर्वसाधारणलाई असहज हुने भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि नियमित चेकजाँच र कारबाहीलाई निरन्तरता दिइने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...