काठमाडौँ, १७ माघ । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले बदलिएको काङ्ग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको बताउनुभएको छ ।
नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ ले आज यहाँ आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले देश बदल्नका लागि काङ्ग्रेस बदलिएको बताउनुभयो । “समयक्रमसँगै काङ्ग्रेस नयाँ काम, सोच र सङ्कल्पका साथ अगाडि बढेको छ, काङ्ग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ”, सभापति थापाले भन्नुभयो ।
आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्तिको अन्त्य हुनेगरी कार्यकर्तालाई बलियो बनाउन लागिएको उहाँको भनाइ थियो । लोकतन्त्र र सामाजिक न्यायको बारेमा काङ्ग्रेसले कसैसँग सम्झौता नगर्ने सभापति थापाले बताउनुभयो ।
उहाँले आम नागरिकको चाहना सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाओस् भन्ने रहेको बताउँदै बदलिएको काङ्ग्रेसले आम नागरिकको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभापति थापाले विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागबण्डाको राजनीति अन्त्य गरेको बताउनुभयो । उहाँले युवाहरुको आवाजलाई काङ्ग्रेसले सुनेर अगाडि बढेको बताउनुभयो । काङ्ग्रेससँग सुधारको अजेन्डा र सबैलाई जोड्ने ताकत रहेको उहाँको भनाइ थियो ।
उहाँले युवाले देशभित्रै रोजगारीको अवसर दिन काङ्ग्रेस लाग्ने बताउनुभयो । सभापति थापाले पार्टीभित्र आफूलाई अहिलेको उचाइमा पुर्याउन काठमाडौँ क्षेत्र नम्बर ४ का कार्यकर्ता र आम मतदाताले खेलेको भूमिकाको उच्च सम्मान गर्नुभयो ।
“मलाई तपाईंहरुले लगाएको गुन जीवनभर तिर्न सक्दिनँ, दुःखको बेलाका साथी र अभिभावक तपाईंहरु हो, नेपाली काङ्ग्रेस र अन्य पार्टीमा रहेर मलाई भोट हाल्ने मतदाताको सहयोगका कारण म यस क्षेत्रबाट तीनपटक निर्वाचित भयाँ, यसको श्रेय तपाईंहरु आम क्षेत्र नम्बर ४ वासीलाई जान्छ,” उहाँले भन्नुभयो ।
सभापति थापाले मधेसलाई काठमाडौँसँग जोड्न र मधेसको मुद्दा बुझ्नका लागि आफूले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएको बताउनुभयो ।
काङ्ग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले काठमाडौँ क्षेत्र नम्बर ४ को विकासका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जेनजी आन्दोलनपछि बदलिएको काङ्ग्रेसले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको बताउँदै जितको लागि आम क्षेत्र नम्बर ४ वासीको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।