ग्रामिण क्षेत्रमा देखिएको रास्वपाको प्रभाव चुनाव जित्ने तहसम्मको होइन : महासचिव पोखरेल

9

काठमाडौँ, १६ माघ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले रास्वपाको ग्रामिण क्षेत्रमा देखिएको प्रभाव चुनाव जित्ने तहसम्मको नरहेको बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले रास्वपाको जन्म भएको सहरी क्षेत्रमा नै रास्वपा प्रतिस्पर्धामा नरहेको भन्दै ग्रामिण क्षेत्रमा देखिएको प्रभाव चुनाव जित्ने तहसम्मको नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँमा रास्वपा प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण छ । जहाँबाट रास्वपाको जन्म भयो त्यहाँबाट नै प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण आएको छ । तर, रास्वपाको प्रभाव पहिलेभन्दा ग्रामिण क्षेत्रमा बढेको देखिन्छ । तर, ग्रामिण क्षेत्रमा बढेका प्रभाव चुनाव जित्ने तहसम्मको प्रभाव होइन भन्ने आङ्कलन छ । हाम्रो प्रतिस्पर्धा काङ्ग्रेससँगै हुन्छ ।”

त्यस्तै, उहाँले झापा क्षेत्र नम्बर ५ मा आफूहरु सुरक्षित रहेको बताउँदै सामाजिक सञ्जालमा लोकप्रिय बनाइएका बालेन साह जाँदाको भीड कुनै निर्णायक नरहेको बताउनुभयो ।

“अहिले सोसल मिडियामा लोकप्रिय बनाइएका बालेन साह देश दौडानमा हिँड्दा र युवाहरुको भीड देख्दा लहरै त्यतै होकी भनेर चर्चा गरिरहेको देखेको छु । डेढ लाख मतदाता भएको ठाउँमा ४–५ हजार आएर जम्मा हुँदा भीड देखिन्छ । त्यो भीड नै निर्णायक हो भनेर विश्लेषण गर्ने हो भने चुनाव नै हुँदैन । पहिलो पटक चर्चामा आउँदा हेर्न गएको कुरा दोस्रो पटक त्यहीँ हुन्छ कि हुँदैन ? बालेन दोस्रो पटक जाँदा त्यहीँ भीड हुन्छ कि हुँदैन त ?” उहाँले भन्नुभयो ।

उहाँले अहिले विदेशीको कठपुतली सरकार निर्माण भएको भन्दै भविष्यमा पनि त्यसलाई निरन्तरता दिनका लागि जेलेन्स्की जन्माउने योजनाको साथ अभियान सुरु भएको आरोप लगाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...