जनतासँगको भेटले भरोसा र ऊर्जा पुनःस्थापना गराएको छ : नानु बास्तोला [भिडिओ]

16
  • मनिषा बस्नेत

काठमाडौँ, १२ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रत्यक्षतर्फकी उम्मेदवार नानु बास्तोलाले महिला, युवा एवम् नयाँ पुस्ताको भूमिका सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । बास्तोला सामाजिक कार्य र महिला सशक्तिकरणका मुद्दामा समेत आफ्नो पहिचान बनाएको र चुनावी अभियानमा यही अजेण्डालाई अघि सारेर चुनावी घरदैलोमा रहेको पनि दाबी गर्नुभयो ।

मतदाताहरुसँग औपचारिक भेटघाट र कार्यक्रममा व्यस्त उहाँ आफूलाई केवल उम्मेदवार नभइ सामाजिक, राजनीतिक र विकासका पहलमा सक्रिय प्रतिनिधि भएको बताउनुहुन्छ । पछिल्लो समय काङ्ग्रेसको विशेष महाधिवेशनपछि भएको नेतृत्व र नीति परिवर्तनलाई पनि चुनावी अभियानमा प्राथमिकता बनाइरहेको उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “उम्मेदवारका रुपमा नोमिनेसन सकेलगत्तै भेटघाट बढाएको छु । पार्टीले आगामी निर्वाचनका लागि दीर्घकालीन र अल्पकालीन रूपमा देश विकासका लागि योजना र नीति सार्वजनिक गर्नेछ ।”

नेतृ बास्तोलाले जनतासँगको भेटले भरोसा र ऊर्जा पुनःस्थापना गरेको बताउनुभयो । “घोषणापत्र चाँडै नै आउनेछ । यो अभियानले जनतासँगको भरोसा र ऊर्जा पुनःस्थापना गरेको छ,” उहाँले भन्नुभयो ।

नेतृ बास्तोलाले आफूलाई केवल महिला उम्मेदवार नभइ युवा नेतृत्वको प्रतिनिधित्व गर्ने पात्र भएको दाबी गर्नुभयो । उहाँले युवालाई मात्र नारामा सीमित नभइ नीति निर्माण र निर्णय प्रक्रियामा सामेल गराउनु जरुरी भएको बताउनुभयो । “म युवा हुँ, महिला मात्र होइन, नयाँ पुस्ताको आवाज प्रतिनिधित्व गर्न सक्ने उम्मेदवार हुँ । अग्रजलाई सम्मान गर्दै, युवा र महिलाको प्रतिनिधित्व गर्दै संसदमा बलियो अजेण्डा प्रस्तुत गर्ने मेरो लक्ष्य हो,” उहाँले भन्नुभयो ।

आगामी निर्वाचनपछि नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार गठन भए दीर्घकालीन रूपमा र अल्पकालीन रूपमा देश विकासका लागि गर्नुपर्ने पहल, नीति निर्माण र कार्यान्वयनका विशेष काम गर्ने बताउनुभयो । “हामीले दीर्घकालीन र अल्पकालीन रूपमा देश विकासका लागि गर्नुपर्ने पहलहरू, काङ्ग्रेसको नेतृत्वमा हुँदा गराउनुपर्ने नीतिहरू र अजेण्डाहरू बनाएका छौँ,” उहाँले भन्नुभयो ।

उहाँले काठमाडौँ क्षेत्र नम्बर ९ को मात्र नभइ देश भरिका विकासका मोडेलहरू पक्षमा बलियो ढङ्गले आफू प्रस्तुत रहने बताउनुभयो । उहाँले युवा पलायन रोक्नुपर्ने र विदेशबाट नेपाल फर्काएर रोजीरोटी सिर्जना गर्न सरकारी नीतिमा सुधार आवश्यक भएकोमा जोड दिनुभयो । “आज विदेश जाने युवाहरू धेरै छन् । उनीहरूलाई फर्काएर यहाँ काम गर्न सक्ने वातावरण बनाउनु पहिलो प्राथमिकता हो । यसका लागि अल्पकालीन र दीर्घकालीन रणनीतिमार्फत गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

नेतृ बास्तोलाले स्थानीय विकास, स्वरोजगार, कृषि, उद्यमशीलता, सडक र पूर्वाधार निर्माणमा आफ्नो अभियान केन्द्रित रहेको बताउनुभयो । “स्थानीय सरकारसँग मिलेर साना व्यवसाय र स्वरोजगार सिर्जना गर्न पहल गर्नेछु । यही कारणले म यस क्षेत्रमै निरन्तर उपस्थित छु र जनता माझ रहँदै काम गर्नेछु । भोलिका दिनमा पनि यसै प्रतिबद्धतामा रहिरहनेछु,” उहाँले स्पष्ट पार्नुभएको छ ।

बास्तोलाले आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसको झन्डा र रुख चिह्नको पक्षमा मतदानको लागि मतदातालाई आग्रह गर्दै, सांसद, महिला र युवाको प्रतिनिधित्वको बलियो नमुना बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...