सुर्खेत, ११ माघ । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली काङ्ग्रेस र नेकपा (एमाले) गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई हराउँदै गठबन्धनले विजयी हाँसिल गरेको हो ।
गठबन्धनबाट नेपाली काङ्ग्रेसका कर्णाली प्रदेश सभापति समेत रहेका ललितजङ्ग् शाही र नेकपा (एमाले)का केन्द्रीय सदस्य मीनासिंह रखाल विजयी हुनुभएको हो । कर्णालीबाट राष्ट्रिय सभामा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा थिए । नेपाली कांग्रेसका शाहीले तीन हजार २७८ मतभारसहित विजयी हुनुभयो ।
उहाँका प्रतिद्वन्द्वी नेकपाका बुद्धिप्रसाद शर्माले एक हजार ६३९ मतभार ल्याउनुभयो । त्यस्तै, नेकपा (एमाले)का मीनासिंह रखालले तीन हजार १४५ मतभारसहित विजयी हुँदा नेकपाकी अञ्जु महताराले एक हजार ७३४ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले जानकारी दिनुभयो ।
आइतबार भएको निर्वाचनमा कर्णालीमा ९६.४६ प्रतिशत मत खसेको थियो । राष्ट्रियसभा निर्वाचनका लागि १९८ मतदाता रहेकोमा तोकिएको मतदान अवधि दिउँसो ३ बजेसम्म १९१ मत खसेको थियो । प्रदेश सभाका ४० सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए भने राप्रपाकी प्रदेश सभा सदस्य सन्तोषी शाहीले मतदान बहिस्कार गर्नुभएको थियो ।