नयाँ पार्टीहरुको कुनै गन्तव्य छैन, कहाँ पुग्ने हो थाहा छैन : ओली

13

काठमाडौँ, १० माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै गन्तव्य बिनाको यात्रा गर्ने पार्टी नभएको स्पष्ट पार्नुभएको छ ।

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालसहित विभिन्न व्यक्तिहरूको नेकपा (एमाले) प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले स्पष्ट उद्देश्य र गन्तव्य बोकेको पार्टी भएको बताउनुभयो ।

उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षालाई एमालेले आफ्नो मुख्य गन्तव्य बनाएको उल्लेख गर्दै भन्नुभयो, “नेपाल समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भन्ने राष्ट्रिय आकाङ्क्षाको विरोध जसले गरे पनि यो हाम्रो साझा लक्ष्य हो । त्यसैले हामीले आफ्नो गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाएका छौँ ।”

अध्यक्ष ओलीले देशको रक्षा, जनताको सफल भविष्य र सन्ततिका उज्वल भविष्यका लागि धेरै नागरिक एमालेमा प्रवेश गरेको उल्लेख गर्नुभयो ।

उहाँले एमाले अन्य पार्टीजस्तो उद्देश्यहीन नभएको दाबी गर्दै भन्नुभयो, ‘नेकपा (एमाले) ट्रेडमिलमा यात्रा गरेजस्तो गर्ने पार्टी होइन । गन्तव्यमा पुग्नका लागि यात्रा गर्ने पार्टी हो ।”

अन्य केही राजनीतिक दलतर्फ सङ्केत गर्दै ओलीले गन्तव्यविहीन राजनीति भइरहेको टिप्पणी गर्नुभयो । उहाँले नयाँ पार्टीहरुलाई नारायण गोपालको गीत ‘भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन केही थाहा छैन’ भन्दै व्यङ्ग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले नयाँका नाममा आएका धेरै पार्टीहरूको गन्तव्य छैन । कहाँ पुग्ने भन्ने थाहा छैन । केका लागि कुदिएको हो, केका लागि काम गरिएको हो भन्ने पनि स्पष्ट छैन । नारायण गोपालले होला गाएको भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन केही थाहा छैन । उहाँहरुको यात्रा त्यस्तै हो भोलि उठी कहाँ जाने त्यो पनि थाहा छैन, केका लागि अरुको चरित्र हत्या गरेको त्यो पनि थाहा छैन । केका लागि काम गर्दैछु त्यो पनि थाहा छैन । त्यस्तो पार्टी होइन नेकपा (एमाले) ।”

अध्यक्ष ओलीले एमाले समृद्ध नेपाल र सुखी नेपाली निर्माणका लागि निरन्तर र अथक संघर्षमा लागेको पार्टी भएको दाबी गर्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरू नेकपा (एमाले)मा प्रवेश गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...