नयाँ भनिने दलहरूले समेत समावेशिताको धज्जी उडाए : निर्मला गौतम [भिडिओ]

29
  • प्रमिला कार्की

काठमाडौँ, १० माघ । प्रगतिशील लोकतान्त्रिक पार्टी काभ्रेपलाञ्चोककी समानुपातिक उम्मेदवार निर्मला गौतमले समानुपातिक प्रतिनिधित्वको मर्ममाथि गम्भीर प्रश्न उठाउँदै यसलाई दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभएको छ ।

नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले समानुपातिक व्यवस्था आवाज नपुगेका, पछाडि पारिएका समुदायलाई प्रतिनिधित्व दिलाउन ल्याइएको भए पनि अहिले पहुँचवाला र बोल्न सक्नेहरू मात्र त्यसमा समावेश गराइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समानुपातिक भनेको पिछडिएका समूदाय जसको आवाज सम्बन्धित निकायमा पुग्दैन उसलाई समानुपातिकमा ल्याउने संरचना हो । तर, सीमित महिलाहरुलाई मात्र राखिएको छ, यो गलत छ ।”

गौतमका अनुसार समावेशी लोकतन्त्रका लागि विभिन्न आन्दोलन र बलिदानबाट स्थापित ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था सामान्य प्रयासले आएको होइन । “तर, अहिलेको निर्वाचन प्रक्रिया हेर्दा म झनै छक्क परेकी छु,” उहाँले भन्नुभयो, “नयाँ भनिने दलहरूले समेत समावेशिताको धज्जी उडाएका छन् । पुराना दलहरूमा त आफन्तवाद अझै हावी देखिन्छ ।”

उहाँले समानुपातिकको मूल उद्देश्य पूरा नहुने अवस्था रहेमा यस्तो व्यवस्था नै नराख्दा राम्रो हुने तर्क गर्नुभयो । “जसका लागि हामीले समानुपातिक राखेका हौँ, उनीहरूले नपाउने र आर्थिक, सामाजिक रूपमा सक्षम व्यक्तिले मात्रै पाउने हो भने यसको अर्थ के रहन्छ ?” भन्दै उहाँले पदको लोभबाट मुक्त हुन सबैलाई आग्रह गर्नुभयो ।

चुनावी सरकारमाथि प्रश्न
गौतमले वर्तमान चुनावी सरकारलाई ‘आपतकालीन सरकार’को संज्ञा दिँदै, निर्वाचन सम्पन्न गराउने दायित्व बोकेका मन्त्रीहरू चुनाव नजिकिँदै राजीनामा दिनुलाई गैरजिम्मेवार कदम भन्नुभएको छ ।

“यो सरकार निर्वाचनका लागि बनेको हो भन्ने थाहा हुँदाहुँदै जिम्मेवारीबाट भाग्नुभयो,” उहाँले भन्नुभयो । यस विषयमा सामाजिक सञ्जालमा समेत आफूले प्रश्न उठाएको बताउनुभयो ।

उहाँका अनुसार, यस्तो व्यवहारले जनतामा राजनीतिप्रति थप वितृष्णा बढाएको छ । “जनताले कसलाई मतदान गर्ने वा नगर्ने भन्ने निर्णय गर्नेछन्,” उहाँले भन्नुभयो ।

पार्टीको तयारी र चुनौती
जेनजी आन्दोलनपछि पुराना दलहरूको बेथिति, विसंगति र भ्रष्टाचारविरुद्ध वैकल्पिक शक्तिका रूपमा प्रगतिशील लोकतान्त्रिक पार्टी उभिएको गौतमको दाबी छ । नेपाली माटोमा जन्मिएको, नेपाली जनभावनालाई प्रतिनिधित्व गर्ने राजनीतिको विकल्प दिन पार्टी गठन गरिएको उहाँले बताउनुभयो ।

छोटो समयमै पार्टी गठन र निर्वाचन एकैसाथ परेकाले चुनौती भए पनि पार्टीले १६५ निर्वाचन क्षेत्रमध्ये ९२ क्षेत्रमा उम्मेदवार उठाएको जानकारी दिनुभयो । “हामीसँग ठुलो मास छैन, तर देश निर्माणका ठोस योजना छन्,” उहाँले भन्नुभयो ।

समावेशिता र महिला उम्मेदवारी
पार्टीको आन्तरिक संरचना समावेशी रहेको बताउँदै गौतमले अध्यक्ष परिषद्मा मधेसी, दलित र महिला प्रतिनिधित्व सुनिश्चित गरिएको उल्लेख गर्नुभयो । प्रत्यक्षतर्फ प्राविधिक कारणले अपेक्षित संख्यामा महिला उम्मेदवार उठाउन नसकिए पनि सात जना महिला उम्मेदवार रहेको जानकारी दिनुभयो ।

मुख्य एजेण्डा
प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रमुख एजेन्डामा सुशासन, भ्रष्टाचार नियन्त्रण, जेनजी आन्दोलनका मागहरूको कार्यान्वयन, युवा रोजगार, गरिबी निवारण र आर्थिक समृद्धि रहेका छन् । साथै पर्यटन प्रवर्द्धन, जलस्रोत र हाइड्रोपावर विकास, वैज्ञानिक तथा व्यवहारिक शिक्षा प्रणालीलाई पनि प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

माओवादीबाट अलग हुनुको कारण
लामो समय तत्कालीन नेकपा (माओवादी केन्द्र)मा सक्रिय रहनुभएकी गौतमले पार्टीभित्र विधि र जनमुखी राजनीति कमजोर हुँदै गएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । “जनतासँग नजाने, चुनावमा मात्रै ठुला कुरा गर्ने प्रवृत्तिले पार्टी कमजोर भयो,” उहाँले भन्नुभयो । पदलिप्साले कम्युनिस्ट आन्दोलनको मर्म बिर्सिएको भन्दै उहाँले वास्तविक परिवर्तनको खोजीमा नयाँ राजनीतिक यात्रामा आएको स्पष्ट पार्नुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...