झापा, ८ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नम्बर ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै हुनुहुन्छ ।
जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कुलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।
अध्यक्ष ओलीले गौरादह नगरपालिकाका–८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिनुभयो ।
वडाका पदाधिकारी तथा सदस्यहरुले मतदाताको मनस्थिति, विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने छन् ।
कार्यकर्ताको गुनासो, पार्टीको नीति, देशको आवश्यकता र झापा ५ का लागि आफूले गरेका योगदान आदिका बारेमा कार्यकर्तालाई जानकारी गराउने छन् ।
अध्यक्ष ओलीले आजै भदौ २४ गते जेनजीका नाममा आगलागी र तोडफोड गरिएका संरचनाको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उक्त आन्दोलनमा गौरादह नगरपालिका, नगरपालिका १, ७ र २ नम्बर वडा कार्यलय, मुख्यमन्त्री हिक्मत कार्की, मेयर छत्रपति सुवेदी, उपमेयर जलवर्षा राजवंशीलगायतको घरमा आगजनी गरिएको थियो ।
अध्यक्ष ओलीले दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीहरुसँग अलग अलग छलफल गरिसक्नुभएको छ भने अब हरेक वडा कमिटीहरुले अध्यक्षसँग अलग अलग भेट गर्ने व्यवस्था मिलाइएको कार्कीले जानकारी दिनुभयो ।