कर्णालीमा नौ जना पूर्वमन्त्री चुनावी मैदानमा, कसको पकड बलियो ?

11

सुर्खेत, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कर्णालीका चार प्रदेश मन्त्रीसहित नौ जना पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन् ।

१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चार जना मन्त्री र पाँच जना संघीय सरकारका मन्त्रीहरु छन् । पूर्वअर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्ति बहादुर बस्नेत, पूर्वपर्यटनमन्त्री खड्क बहादुर विश्वकर्मा, पूर्वसहरी विकासमन्त्री धन बहादुर बुढा र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा पूर्वऊर्जामन्त्री महेन्द्र बहादुर शाही चुनावी मैदानमा हुनुहुन्छ ।

त्यस्तै, कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री नरेश भण्डारी जुम्लाबाट, गोपाल शर्मा रुकुम पश्चिमबाट, चन्द्र बहादुर शाही मुगुबाट र अम्मर बहादुर थापा दैलेख क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुभएको छ । यी सबै पूर्वमन्त्रीहरु माओवादी र एकीकृत समाजवादी पृष्ठभूमिका हुनुहुन्छ ।

कसको अवस्था के ?
जनार्दन शर्मा : पूर्वअर्थमन्त्री
तत्कालीन नेकपा (माओवादी)का प्रभावशाली नेता हुन् जनार्दन शर्मा । कुनै समय उहाँ नेकपाका संयोजक प्रचण्डका विश्वस पात्र हुनुहुन्थ्यो । प्रचण्डको विश्वासकै कारण कर्णालीमै उहाँको प्रभाव रहन्थ्यो । त्यसैले त कर्णाली सरकारको मुख्यमन्त्री जो भए पनि उहाँकै इशारामा चल्ने समय थियो कुनै बेला । यतिसम्म कि महेन्द्र बहादुर शाही मुख्यमन्त्री हुँदा उहाँले कर्णाली प्रदेश सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्र बनाएर जनार्दनलाई संयोजक बनाउनुभएको थियो ।

रुकुम पश्चिममा जनार्दनको नाम लिएर जो कोही चुनावमा गए पनि जितिन्छ भन्ने प्रभाव बनाउनुभएको थियो उहाँले । तर, अहिले उहाँ आफैँ चुनाव कसरी जित्ने भन्ने रणनितिमा हुनुहुन्छ । उहाँले तत्कालीन पार्टी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावमा होमिएका छन् । रुकुम पश्चिममा कुनै बेलाका आफ्नै कार्यकर्ता गोपाल शर्मासँग भिड्दै हुनुहुन्छ जनार्दन । जनार्दनको प्रभाव क्षेत्र भनिएको रुकुम पश्चिममा उहाँलाई चुनाव जित्न सहज नभएको स्थानीयले बताएका छन् ।

शक्तिबहादुर बस्नेत : पूर्वगृहमन्त्री
पूर्वगृहमन्त्री भइ सकेका शक्ति बहादुर बस्नेत जाजरकोटबाट चुनावी मैदानमा होमिनुभएको छ । यहाँ उहाँले नेपाली काङ्ग्रेससँग प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । शान्ति प्रक्रियामा आएयता जाजरकोटबाट लगातार चुनाव जित्दै आएका बस्नेतलाई उहाँको पार्टीका नेताहरुलाई मिलाउनु पर्ने चुनौती छ । चुनावमा टिकटका आकांक्षी रहेका गणेशप्रसाद सिंहले पार्टी परित्याग गरेको घोषणा गरेपछि बस्नेतलाई चुनाव जित्न सहज नभएको स्थानीयको आंकलन छ ।

सधैँ टिकट ल्याउन सफल भए पनि यो पटक जाजरकोटबाट चुनाव जित्न सहज नभएको स्थानीय बताउँछन् । उहाँलाई नेपाली काङ्ग्रेसका खडक बिसी र नेकपा (एमाले)का डम्मर सिंहले चुनौती दिएका छन् । काङ्ग्रेसका बिसी जिल्लामै बसी रहने युवा भएकोले जनताको रोजाइमा पर्ने काङ्ग्रेका नेताहरुको दाबी गरेका छन् ।

धन बहादुर बुढा : पूर्वसहरी विकासमन्त्री
पूर्वसहरी विकासमन्त्री धनबहादुर बुढा डोल्पाबाट चुनाव लडेका छन् । तत्कालीन समयमा नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बन्नुभएका बुढा पार्टी एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार हुनुहुन्छ । रोचक त के छ भने उहाँले आफ्नै सहोदर दाजु कर्ण बहादुर बुढासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । नेपाली काङ्ग्रेसको सहमहामन्त्री बुढा पनि डोल्पाबाट चुनावमा उठ्नुभएको छ ।

आमने सामने प्रकाण्ड र महेन्द्र
तत्कालीन युद्धको बेला खड्क बहादुर विश्वकर्मा युद्धको योजनाकार हुनुहुन्थ्यो । त्यहीबेला महेन्द्र बहादुर शाही जनमिलिसियामा भर्ना भएर जनयुद्धमा सहभागी हुनुभयो । महेन्द्र बहादुर शाही जनयुद्धको प्रभावबाट शान्ति प्रक्रियामा पुग्दासम्म छापामार हुँदै डिभिजन कमाण्डर बने भने खड्कबहादुर तत्कालीन अन्तरिम कालमा वित्रायक बनेर संसद छिर्नुभयो ।

प्रचण्डका विश्वास पात्र प्रकाण्ड २०६४को संविधान सभापछि प्रचण्डको मन्त्रीपरिषद्मा मन्त्री पनि बन्नुभयो । त्यहीँ बेला माओवादी लडाकू शिविरमा रहेका महेन्द्र २०६८ सालमा माओवादी विभाजनबाट प्रकाण्ड मोहन वैद्य नेतृत्वमा लागेपछि राजनितिमा आएका महेन्द्र यो पटक कालिकोटबाट आमने सामने भएका छन् ।

नेकपा (माओवादी)का प्रवक्ता समेत रहनुभएका प्रकाण्डले उम्मेदवारी दर्ता गराएसँगै कालिकोटको राजनितिक माहोल फेरिने आँकलन गरिएको छ ।

२०७० सालको संविधान सभा निर्वाचन यता कहिले सङ्घमा र कहिले प्रदेशमा चुनाव लडेर अवसर जित्ने पाएका महेन्द्रका लागि यति बेला चाहिँ जित सहज हुने छैन । उहाँलाई पार्टीका केन्द्रीय सदस्य जीवन बुढाले बागी उम्मेदवारी दर्ता गरेर चुनौती दिनुभएको छ । माओवादी विभाजन, प्रकाण्डको उम्मेदवारी र महेन्द्रको लामो संसदीय यात्राले कालिकोटको परिणाम काङ्ग्रेस एमालेको पोल्टामा पर्न सक्ने अनुमान पनि गरिएको छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...