इलाम २ मा चुनावी रौनक : सुहाङ र भेषराज मुख्य प्रतिस्पर्धी

14

इलाम, ६ माघ । इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले)बाट सुहाङ नेम्वाङ र नेपाली काङ्ग्रेसबाट भेषराज आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय इलाम पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

आचार्य २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि उम्मेदवार हुनुभएको थियो । त्यतिबेला उहाँ सुहाङका पिता स्व.सुवासचन्द्र नेम्वाङसँग पराजित हुनुभएको थियो ।

त्यस्तै, इलाम २ बाट जनमुक्ति पार्टीबाट याम योङहाङ लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशप्रसाद दुलाल, मंगोल नेसनल अर्गनाइजेसनबाट श्याम बहादुर लिम्बू, श्रम संस्कृति पार्टीको तर्फबाट सुदीप राईलगायतले उम्मेदवारी दिएका छन् ।

इलाममा विशेषगरी सुहाङ र भेषराजबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सुहाङ पिताको विरासत जोगाउन र युवा पुस्ताको प्रतिनिधित्व गराउन मैदानमा छन् भने चार दशकदेखि सक्रिय राजनीतिमा रहेका भेषराज पहिलो पटक संसद् छिर्ने कसरतमा हुनुहुन्छ । सुहाङ एमालेका केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

जिल्लाको पार्टी संगठनभित्र बलियो पकड बनाएका भेषराज संगठन निर्माणबाटै स्थापित नेताका रुपमा चिनिनुहुन्छ । कहिल्यै विवादमा नआएका उहाँ लो प्रोफाइलमा बसेरै लामो समयदेखि राजनीति गरेका कारण यसअघि पनि उम्मेदवारका लागि केन्द्रीय नेताहरुले लामो समयसम्म लबिङ गर्नुभएको थियो ।

केन्द्रमा गगन थापा, डा.शेखर कोइराला र डा.शंशाक कोइरालासँग निकट मानिएका आचार्यले यस पटक सजिलै टिकट पाएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...