सिन्धुली, २ माघ । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबिआई बैङ्क लुटपाटको मुख्य योजनाकारको आरोपमा घरधनी छविलाल स्याङतानसहित बैङ्क लुटपाटमा संलग्न भएको आरोपमा सात जनाको विवरण जिल्ला प्रहरीले सार्वजनिक गरेको छ ।
गत पुस २९ गते राति बैङ्क लुटपाट गरिएको थियो । बैङ्कको शाखा राखिएको घरका धनी स्याङ्तानको मुख्य योजनामा बैङ्क लुटिएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख एवम् प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरूमा सवारी चालक काभ्रेको बनेपा नगरपालिका–१० का ४९ वर्षीय भागवतसिंह थापा, घ्याङ्लेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर महानगरपालिका–२ का २४ वर्षीय शशाङ्क श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, घ्याङ्लेख गाउँपालिका–२ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक १६ वर्षीय बालक छन् ।
पक्राउ परेकाहरूलाई सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । “बैङ्क लुटमा मुख्य योजनाकार तीन जना देखिन्छन् । बैङ्क राखिएको घरका धनी छविलाल स्याङ्तान, स्याङ्तानका जेठान चतुरमान बज्युलाई पक्राउ गरिसकिएको छ भने अर्का एक जना फरार छन्”, उहाँले भन्नुभयो ।
बैङ्कबाट लुटेको दुई करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ नगदसमेत प्रहरीले बरामद गरेको छ । लुटेराहरूले घटनास्थलमा देखाएको पेस्तोल नक्कली रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरी उपरीक्षक सुवेदीका अनुसार सुरक्षा गार्डसहितका कर्मचारीहरूलाई नक्कली प्लाष्टिकको पेस्तोल र खुकुरी देखाएर बैङ्क लुटिएको थियो ।
प्रहरीले लुटमा प्रयोग भएको दुई थान खुकुरी, एक थान प्लाष्टिकको पेस्तोल, पाँच थान मोबाइल, ठुलो पानी टेप एक वटा, कालो रङको नकाव तीन थान, रातो रङको नकाव एक थान र कालो पञ्जा एक जोरसमेत बरामद गरेको छ ।
घरधनी स्याङ्तानले लुटेराहरूलाई हतियार व्यवस्थापन गरिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उहाँले सूचना आदान–प्रदान गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । बज्यु, उहाँका ज्वाइँ घरधनी स्याङ्तान र अर्का फरार अभियुक्तले २०८२ असोजबाट नै बैङ्क लुट्ने योजना बनाएको र पटक–पटक लुटको प्रयास गरिएको पाइएको प्रहरीको अनुसन्धानमा खुलेको हो ।
प्रहरीका अनुसार पहिलोपटक पुस २३ गते बैङ्क लुट्ने योजना बनाएका थिए । उक्त दिन बैङ्क लुटमा संलग्न चार जना काठमाडौँबाट दुईवटा मोटरसाइकलमा सिन्धुली आएका थिए । तर, त्यसबेला परिस्थिति अनुकूल नभएर फर्केको र दोस्रो प्रयासमा बैंक लुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पुस २८ गते पनि उनीहरु बैङ्क लुट्न आउने गरी काठमाडौँको कोटेश्वरमा जम्मा भए पनि ढिलो भएकाले नआएको र पुस २९ गते सोही ठाउँमा जम्मा भएर सार्वजनिक यातायात चढी बनेपा गएका थिए । बनेपाबाट बिएडी ०३९८ नम्बरको टाटा सुमो रिजर्भ गरी घ्याङलेख आएको पाइएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो ।
बैङ्कमा आएर २९ गते साँझ उनीहरूले एसबिआई बैङ्कभित्र प्रवेश गरी सुरक्षा गार्ड रुद्र बहादुर कार्की र अन्य कर्मचारीलाई नियन्त्रणमा लिइ, शाखा प्रमुखलाई प्लाष्टिकको पेस्तोल देखाइ बैङ्कमा पैसा भएको भल्टको ताल्चा खोल्न लगाई बैङ्कमा भएको पैसा बोरा तथा झोलामा हालेर भागेको पाइएको उहाँले सुनाउनुभयो ।
बैङ्क लुटेर भाग्ने क्रममा प्रहरी र स्थानीयको सक्रियतामा अभियुक्त पक्राउ गर्न र पैसा तथा अन्य प्रमाण बरामद गर्न प्रहरी सफल भएको थियो । पक्राउ परेकाहरुका विरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार बैङ्कबाट तीन करोड ७ लाख रुपैयाँ लुटपाट भएको थियो ।