काठमाडौँ, २ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको ठुलो लहर र विश्वासकासाथ अगाडि बढेको पार्टी १२ दिनसम्म कोमामा बस्नुपरेको बताउनुभएको छ ।
शुक्रबार पार्टीले आयोजना गरेको उज्यालो जम्काभेट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकतालाई लक्षित गर्दै १२ दिनसम्म अध्यारो सुरुङमा बसेको पार्टी अहिले झन् सफा, शुद्ध र ऊर्जाशील भएर निस्केको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उज्यालो पार्टी गठन भएको एकदमै छोटो समयमा धेरै अगाडि बढेको अवस्था थियो । जनताको ठुलो लहर र ठुलो विश्वासकासाथ अगाडि बढेको पार्टी करिब १२ दिनको कोमामा बस्नुपर्यो । १२ दिन हामी एउटा अध्यारो सुरुङभित्र छिर्नुपर्ने अवस्था आयो । त्यो अध्यारो सुरुङभित्र १२ दिनसम्म बस्दा हामीले धेरै ठुलो क्षति व्यहोर्न पर्यो । आज त्यो हिलोबाट हामी सफा, शुद्ध र ऊर्जाशील भएर निस्केका छौँ ।”
त्यस्तै, उहाँले आफूहरुलाई षड्यन्त्रपूर्वक ढंगले समानुपातिक उम्मेदवारसम्म राख्न बन्चित गराइएको आरोप लगाउनुभयो । २० देखि २५ लाख समानुपातिक मत आउने दाबी गर्दै उहाँले उम्मेदवारी दर्ता गर्न पाउने व्यवस्थाको लागि माग गर्नुभयो ।
हामीलाई षड्यन्त्रपूर्वक ढंगले जुन हिसाबले हामीलाई भर्खर जन्मेको पार्टीले समानुपातिक उम्मेदवारसम्म राख्न बन्चित गराइयो । त्यो हाम्रो गम्भीर आपत्तिको विषय छ । अहिले पनि हामी माग गर्छौँ, उम्मेदवारी दर्ता गर्न दिनुपर्छ । यसमा जोडदार माग गर्छु । हामीलाई उम्मेदवारी दर्ता गर्न नदिने हो भने आगामी दिनमा आन्दोलन पनि गर्ने छौँ । हाम्रो २० देखि २५ लाख समानुपातिक मत आउँछ भन्ने आँकलन छ ।”
त्यस्तै, अध्यक्ष घिसिङले अब उज्यालो नेपाल पार्टी कहिल्यै पनि नझुक्ने दाबी गर्नुभयो । पार्टीलाई देशकै नम्बर वान बनाउने बताउँदै उहाँले विश्वासिलो पार्टीको रुपमा उभिने पनि विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “अब उज्यालो नेपाल पार्टी कहिल्यै पनि झुक्दैन । कहिल्यै कुनै पार्टीसँग एकीकरण र मर्जर भन्ने हुँदैन । तर, हाम्रो पार्टीसँग आवद्ध हुन आउँछ भने आह्वान गर्छौँ। यो पार्टीलाई देशकै नम्बर वान बनाउने छौँ । उज्यालो नेपाल पार्टी एउटा विश्वासिलो पार्टीको रुपमा उभिने छ ।”