काठमाडौँ, १ माघ । नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा आज नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै उहाँले पार्टी सदस्यलाई काङ्ग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गर्नुभयो ।
“जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईंहरु कसैको पनि शिर निहुरिने अवस्था आउने दिने छैन । नेपाली काङ्ग्रेस पार्टीको शान राख्छु । यो पार्टीमा लाग्ने तमाम साथीहरुले नेपाली काङ्ग्रेस भएकामा गौरव गर्ने बनाउँछु । नागरिकलाई अप्ठयारो अवस्थामा काङ्ग्रेस छ भन्ने काम पार्टीले गर्नेछ”, नवनिर्वाचित सभापति थापाले भन्नुभयो ।
उहाँले नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन काङ्ग्रेसको इतिहासमा मात्रै नभइ आधुनिक नेपालको इतिहासमा भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठुलो हस्तक्षेप भएको उल्लेख गर्नुभयो । सभापति थापाले भन्नुभयो, “भुइँ तहका कार्यकर्ता भनेको जनताको प्रतिनिधि हो, नागरिक हो । नागरिकले दलभित्र गरेको हस्तक्षेप हो ।”
नेपाली काङ्ग्रेस कुनै हालतमा नफुटेको जनाउँदै उहाँले वैधानिक रुपमा विशेष महाधिवेशन गर्दा पार्टी फुट्यो भन्ने प्रश्नै नउठ्ने बताउनुभयो ।
त्यसअघि केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले सभापति पदमा थापा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभएको थियो ।