काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटसमेत हटाएको छ । आइतबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ओलीलाई हटाएको हो ।
प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालको उपस्थितिमा भएको बैठकले पार्टी अनुशासन पालना नगरेको भन्दै साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।
यसअघि, प्रचण्ड-माधव समूहका नेताहरु नेपाल, झलनाथ खनाललगायतले ओलीलाई साधारण सदस्यबाटै हटाउने सार्वजनिक मञ्चहरुमा भन्दै आएका थिए ।
गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचको मिति तोकेकी थिइन् । सरकारले संसद विघटन गरेपछि नेकपामा एक समूहले अर्को समूहलाई कारबाही गर्नेगरी राजनीतिक विभाजन आएको छ ।