काठमाडौँ, २२ पुस । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले एघारौँ महाधिवेशनको परिणामलाई स्वीकार गर्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल मर्म भएको बताउनुभएको छ ।
महाधिवेशनमा पराजित भएपछि नेपाल न्युज बैंकसँग आफ्नो धारणा स्पष्ट राख्दै पोखरेलले प्रतिस्पर्धात्मक राजनीतिमा सहभागी हुने जोकोहीले त्यसबाट आउने परिणामलाई स्वीकार गर्न सक्नुपर्ने बताउनुभयो ।
“प्रतिस्पर्धामा जानु भनेको जितहार दुवैलाई स्वीकार गर्ने तयारीसहित अगाडि बढ्नु हो । परिणाम स्वीकार गर्न नसक्ने वा स्वीकार गर्न आँट नगर्नेहरू वास्तवमा प्रतिस्पर्धात्मक राजनीति गर्ने मान्छे हुँदैनन्,” उहाँले भन्नुभयो ।
उहाँले प्रतिस्पर्धात्मक राजनीतिका आफ्नै चुनौती र समस्याहरू हुने उल्लेख गर्नुभयो । ती विषयमा अलग–अलग छलफल गर्न सकिने भए पनि समग्र रूपमा प्रतिस्पर्धाबाट आएको परिणामलाई स्वीकार गर्दै अघि बढ्नु लोकतान्त्रिक संस्कारको अनिवार्य पक्ष भएको उहाँको भनाइ थियो ।
पोखरेलले जनताको बहुदलीय जनवाद पार्टी जीवनको लोकतन्त्रीकरणसँग जोडिएको अवधारणा भएको उल्लेख गर्दै त्यसको एक महत्त्वपूर्ण अंग प्रतिस्पर्धात्मक राजनीति नै भएको बताउनुभयो । “प्रतिस्पर्धालाई स्वीकार गर्नु भनेको लोकतन्त्रलाई आत्मसात् गर्नु हो,” उहाँले भन्नुभयो ।
त्यस्तै, उहाँले नेकपा (एमाले) मात्र नभइ नेपालका सबै राजनीतिक दल र तिनका नेताहरूले लोकतान्त्रिक बाटोबाटै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टीभित्रको संरचना र नेतृत्व चयन प्रक्रियासमेत लोकतान्त्रिक अभ्यासको अर्को स्वरूप भएको बताउँदै पोखरेलले नेकपा (एमाले)ले यस मान्यतालाई स्वीकार गरेर नै अगाडि बढिरहेको स्पष्ट पार्नुभयो ।
“एमालेले प्रतिस्पर्धात्मक राजनीतिलाई स्वीकार गरेको छ र त्यसलाई अझ सुदृढ गर्दै अगाडि बढाउन चाहन्छ,” पोखरेलले भन्नुभयो ।