- सन्तोषी रावल
काठमाडौँ, १८ पुस । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट अत्याधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएपछि डा.टीका ढकालले आफूलाई ठुलो जिम्मेवारी आएको अनुभूति भएको बताउनुभएको छ । महाधिवेशन प्रतिनिधि बन्नु नै आफ्नो लागि गर्वको विषय भएको र त्यसपछि केन्द्रीय सदस्यमा निर्वाचित हुँदा अपेक्षाभन्दा धेरै विश्वास प्राप्त भएको उहाँको भनाइ छ ।
पार्टीको मूलधारमा नयाँ भए पनि देशभरिका प्रतिनिधिहरूले दिएको लोकप्रिय मतले आफूलाई अझ गम्भीर र जिम्मेवार बनाएको उहाँले उल्लेख गर्नुभयो ।
नतिजा सार्वजनिक भएको दिन महाधिवेशनस्थलमै देखिएको बधाई र समर्थनले आफ्नो काँधमा ठुलो दायित्व थपिएको महसुस भएको डा.ढकालको भनाइ छ ।
पार्टीको विधि, विधान र अनुशासनअनुसार अघि बढ्दै प्रतिनिधिहरूले दिएको भरोसाको सम्मान गर्नुपर्ने चुनौती आफूले आत्मसात गरेको उहाँले बताउनुभयो । “अब मैले गर्ने हरेक कदमले पार्टी र भोलिको नेतृत्वमा उत्तर दिनुपर्ने अवस्था आएको छ,” उहाँले भन्नुभयो ।
महाधिवेशनको माहोललाई उत्साहजनक र लोकतान्त्रिक भन्दै डा.ढकालले प्रतिनिधिहरूको पार्टीप्रतिको समर्पणले आफू प्रभावित भएको बताउनुभयो ।
पार्टीभित्र विद्रोह र कठिन परिस्थिति पार गरेर आएको पृष्ठभूमि हुँदाहुँदै पनि प्रतिनिधिहरूमा देखिएको ऊर्जा र प्रतिबद्धताले नेकपा (एमाले) अझै गतिशील र जीवित पार्टी भएको पुष्टि गरेको उहाँको धारणा रहेको छ ।
११औँ महाधिवेशनले युवाहरू र नयाँ पुस्तालाई उल्लेखनीय रूपमा समेट्नु सकारात्मक कदम भएको उहाँले उल्लेख गर्नुभयो ।
नयाँ जिम्मेवारीसँगै आफूले सुशासन, भ्रष्टाचार नियन्त्रण र लैङ्गिक समावेशिताको एजेन्डालाई प्राथमिकतामा राखेर काम गर्ने डा.ढकालले स्पष्ट पार्नुभयो ।
समाजमा पार्टीप्रति देखिएको अविश्वास हटाउन पारदर्शिता, विधिको शासन र निष्पक्ष कार्यशैली अनिवार्य भएको उहाँको भनाइ छ । विशेष गरी नेतृत्व तहमा महिलाको आवाज अझ बलियो बनाउन संरचनागत र व्यवहारिक दुवै तहमा काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
महिला राजनीतिज्ञका रूपमा भोग्नुपरेका चुनौतीबारे बोल्दै डा.ढकालले पारिवारिक दायित्व, सामाजिक दृष्टिकोण र जिम्मेवारीको भार महिलाका लागि ठुलो चुनौती भएको बताउनुभयो ।
यद्यपि, महिलाहरू सक्षम नेतृत्व र कुशल प्रशासक भएको प्रमाण इतिहासले दिइसकेको भन्दै लोकतान्त्रिक व्यवस्थाले महिलालाई अघि बढ्ने अवसर दिएको उहाँको धारणा छ । आउने पुस्तामा लैङ्गिक विभेद अन्त्य गर्न निरन्तर संघर्ष आवश्यक रहेको उहाँले जोड दिनुभयो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनबारे उठेका बहसमा डा.ढकालले उहाँ राष्ट्रकै गौरव भएको उल्लेख गर्नुभयो ।
उच्च पद सम्हालेको व्यक्तिको गरिमा र वैधानिक प्रक्रियालाई ध्यानमा राख्नुपर्ने उहाँको भनाइ छ । पार्टी निर्णय र विधिभन्दा बाहिर गएर हुने कुनै पनि गतिविधिले पार्टीलाई कमजोर बनाउने खतरा रहने भएकाले स्पष्टता आवश्यक भएको बताउनुभयो ।
डा.टीका ढकालले युवा र महिलालाई भावनामा बग्नुभन्दा यथार्थ बुझेर राजनीति गर्न आह्वान गर्नुभयो । देश निर्माणको मूल माध्यम राजनीति नै भएको उल्लेख गर्दै स्थापित, अनुशासित र जनाधार भएको पार्टीमार्फत सुधार सम्भव हुने उहाँको धारणा छ ।
“भ्रम होइन, विचार रोजौँः विदेश होइन, यहीँ बसेर देश बनाऔँ,’ भन्दै उहाँले सबै नेपालीलाई मिलेर समुन्नत, सुशासित र सुसंस्कृत समाज निर्माणमा जुट्न आग्रह गर्नुभयो । –नेपाल न्युज बैङ्क