काठमाडौँ, १४ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर सुधार अनिवार्य भएको बताउनुभएको छ ।
बानेश्वर बहुमुखी क्याम्पसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्ने भएकाले त्यस क्षेत्रको सुधार अपरिहार्य भएको बताउनुभयो ।
शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भन्ने आफ्नो चाहना रहेको र त्यसका लागि सामुदायिक शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धिमा आफ्नो साथ रहने संयोजक प्रचण्डले स्पष्ट पार्नुभयो । उहाँले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको उल्लेख गर्नुभयो । सङ्कटमा परेको राष्ट्रलाई सबै मिलेर निकास दिनुपर्ने भन्दै राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको उहाँको भनाइ थियो ।
संयोजक प्रचण्डले हालै देखिएको ‘जेनजी पुस्ताको आन्दोलन’ले युवापुस्ताको सक्रिय सहभागिताले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको स्पष्ट भएको बताउनुभयो । “नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम थियो, तर जेनजी आन्दोलनले त्यो गलत सावित गरिदिएको छ । नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको छ”, उहाँले भन्नुभयो ।
संयोजक प्रचण्डले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकामा युवालाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । युवालाई आग्रह गर्दै उहाँले भन्नुभयो “अब शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ ।”