एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

10

काठमाडौँ, १३ पुस । नेकपा (एमाले)ले आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि सामानुपातिकतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सोमबार आयोगमा समानुपातिकतर्फको बन्दसूचि बुझाउने निर्णय गरेको एमालका उपमहासचिव लेखराज भट्टले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले जिल्ला र प्रदेशबाट प्राप्त समानुपातिकतर्फ उम्मेदवार बन्द सूचीलाई नै अन्तिम रुप दिएर आयोगमा बुझाउने छ । उपमहासचिव भट्टले बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा पेस गरिएको समानुपातिकतर्फको बन्द सूचीका विषयमा छलफल भएको बताउनुभयो ।

निर्वाचन आयोगले सोमबारसम्म निर्वाचनमा भाग लिने दललाई समानुपातिकतर्फको बन्द सूची बुझाउने समय तोकेको छ । “अध्यक्ष ओलीले आज पेस गर्नुभएको बन्द सूचीबारे छलफल गरी पारित गरिएको छ । अध्यक्ष ओलीले आवश्यक ठानेमा बन्द सूचीलाई सच्चाएर आयोगमा पठाउने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो ।

बैठकमा अध्यक्ष ओलीले निर्वाचन भयरहित बनाउने र पार्टीका नेता तथा कार्यकर्ता टोलसम्म जाने वातावरण अझै नभएको भन्दै सुरक्षा प्रत्याभूति सरकारले अझै बनाउन नसकेको बताउनुभयो । उपमहासचिव भट्टका अनुसार अध्यक्ष ओलीले पार्टीको जनवर्गीय सङ्गठन नेशनल भोलिन्टियर्स फोर्स प्रत्येक बुथमा राख्नुपर्नेमा जोड दिनुभयो । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...