वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

0

पर्सा, १२ पुस । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३० अर्ब २५ करोड रूपैयाँ सङ्कलन गरेको छ ।

वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका ७२ अर्ब २८ करोड रूपैयाँको पेट्रोलियम पदार्थ आयात हुँदा सो राजस्व सङ्कलन भएको हो । राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा भने ३१ दशमलव ३९ प्रतिशत छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताउनुभयो ।

त्यस्तै, दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुजा आयातबाट १२ अर्ब ७४ करोड रूपैयाँ रकम प्राप्त गरेको छ । आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने १३ दशमलव २२ प्रतिशत रहेको छ ।

त्यस्तै, फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब ६५ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै, कपडाहरूको आयातबाट भने चार अर्ब ८५ करोड रूपैयाँ राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको पाँच महिनामा समग्रमा ९६ अर्ब ३८ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...