काठमाडौँ, ७ पुस । जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिएको जनाएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेलले जेनजी समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि अनुमति नदिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उहाँहरुले सूचना र निवेदन दिनुभएको छ । सानोतिनो प्रदर्शन मात्र गर्ने हो भन्नुभएको छ । हामीले आन्दोलनको उचित तरिकाले व्यवस्थापन गर्ने छौँ । आन्दोलनका लागि कुनै किसिमको अनुमति भने दिएका छैनौँ ।”
आइतबार आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नै नलिइ सडकमा उत्रने उद्घोष गरेका थिए । जेनजी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको छ ।