ध्यानको उत्पतिस्थल नेपाल हो, यसमा गौरव गर्नुपर्छ : मन्त्री पुन

8

काठमाडौँ, ६ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ध्यानको उत्पतिस्थल नेपालमै भएको उल्लेख गर्दै यसप्रति राष्ट्रिय गौरव गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार आयोजित दोस्रो विश्व ध्यान दिवस २०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उहाँले ध्यानलाई विश्वभर फैलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री पुनले ध्यान नेपाललाई विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको बताउनुभयो । “ध्यानको उत्पादन स्थान नेपाल हो । यो कुरामा हामीले गौरव गर्नुपर्छ र यसलाई हामीले संसारभर फैलाउनुपर्छ । ध्यान विश्वसामु नेपाललाई चिनाउने माध्यम पनि हो । यसरी नेपाललाई परिचित गराउने मात्र होइन यसबाट धेरैभन्दा धेरै विदेशी पर्यटकहरु देशमा निमन्त्रणा गरेर नेपालमा पर्यटनको व्यवसाय पनि बढाउन सकिन्छ,” उहाँले भन्नुभयो ।

उहाँले आधुनिक विज्ञान र प्रविधिमा नेपालपछि परेको स्वीकार गर्दै त्यसका कारण मुलुक विदेशी उत्पादनमा निर्भर हुनुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी आधुनिक विज्ञान र प्रविधिमा धेरै पछि पर्‍यौँ । आधुनिक विज्ञान र प्रविधिको विकास गर्न नसकेर सम्पूर्ण रुपमा विदेशीमा भर पर्नुपर्ने भयो । विदेशमा बनेका वस्तु नेपालमा आयात गर्नुपर्दा हाम्रो अर्थतन्त्र बढाउन नसकिने भयो ।”

मन्त्री पुनका अनुसार ध्यान र योगको जन्मभूमि नेपाल भएकाले यसलाई पर्यटनसँग जोडेर अर्थतन्त्र सुधार गर्न सकिन्छ ।

“ध्यान र योगको प्रवर्द्धनमार्फत पर्यटन विस्तार गर्न सके नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ,” उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...