- सन्तोषी रावल
काठमाडौँ, १ पुस । नेकपा (एमाले)को ११औँ महाधिवेशनको संघारमा काठमाडौँको भृकुटीमण्डपमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, युवा तथा पार्टीप्रति आस्था राख्ने देशभरका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ । सहभागीहरूका अनुसार यसपटकको महाधिवेशन अघिल्ला महाधिवेशनहरूभन्दा फरक र थप समावेशी सहभागितासहित अघि बढिरहेको छ ।
महाधिवेशनमा सहभागी रुपन्देही अनेरास्ववियू जिल्ला कमिटी सचिव सरोज खनालले सबै जाति, वर्ग र समुदायको सक्रिय सहभागिताबाट नेतृत्व चयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेकपा (एमाले)भित्र कुनै पनि गुट नरहेको दाबी गर्दै सबैलाई समेटेर अघि बढ्ने पार्टीको परम्परा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । अब आउने नेतृत्व अझ बलियो र जनउत्तरदायी हुने उहाँको भनाइ छ ।
महाधिवेशनमा सहभागी युवाहरूले पछिल्लो समय चर्चामा रहेको ‘जेनजी आन्दोलन’ले तोडफोड र अस्थिरता मात्र निम्त्याएको टिप्पणी गर्दै नेकपा (एमाले) भने सबै पुस्ता र समुदायलाई मिलाएर अघि बढ्न सक्ने सक्षम पार्टी भएको बताएका छन् ।
त्यस्तै, सहभागी रोशन घिमिरेले नेकपा (एमाले)को ११औँ महाधिवेशन हर्षोल्लासका साथ सम्पन्न भइरहेको बताउनुभयो । उहाँले सामूहिक भावनाका आधारमा एमालेमा जो नेतृत्व आए पनि सबैले सहयोग गर्ने स्पष्ट पार्नुभयो । उहाँका अनुसार नेतृत्व कसैले दिएर लिने विषय होइन, यो क्षमता, लगनशीलता, योगदान र कार्यसम्पादनका आधारमा स्थापित हुने प्रक्रिया हो । एमालेभित्र युवादेखि सबै वर्गका व्यक्तित्व सक्षम र अब्बल भएकाले जो आए पनि पार्टी सशक्त रूपमा अघि बढ्ने उहाँले बताउनुभयो ।
यस्तै, सक्रिय युवा नेता कमल रावलले महाधिवेशनपछि एमालेमा सक्षम र सकारात्मक नेतृत्व आउने विश्वास व्यक्त गर्नुभयो । यसपटकको महाधिवेशनले युवाका विषयमा विशेष ध्यान दिएको उल्लेख गर्दै युवाको सक्रिय सहभागिताले भावी नेतृत्व पनि युवामैत्री हुने उहाँको भनाइ छ ।
उहाँका अनुसार अबको राजनीतिमा नेतृत्व जो आए पनि सबैले एकताबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता छ । एमालेको आस्था बोकेर देशभरबाट आएका नेता तथा कार्यकर्ताले खुसीका साथ पार्टीलाई अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सिटिभिटी उपत्यका अध्यक्षसमेत रहनुभएका रावलले नेकपा (एमाले)भित्र युवालाई प्राथमिकतामा राख्दै युवामुखी राजनीति अघि बढिरहेको बताउनुभयो । युवालाई नेतृत्वमा ल्याउँदा पुस्तागत दुरी नहुने र पार्टी थप ऊर्जाशील हुने उहाँको धारणा छ ।
महाधिवेशनमा सहभागी युवाहरूले ‘युवा भनेपछि जेनजी मात्रै सम्झिने प्रवृत्ति गलत भएको’ उल्लेख गर्दै नेकपा (एमाले)भित्र पनि सशक्त युवा नेतृत्व अघि बढिरहेको स्पष्ट पारेका छन् । सबैको सहभागिताले यो महाधिवेशन सफल र अर्थपूर्ण बनेको उनीहरूको भनाइ छ । -नेपाल न्युज बैँक