- सन्तोषी रावल
काठमाडौँ, २६ मङ्सिर । नेकपा (एमाले)का नेता तथा महाधिवेशन प्रतिनिधि ठाकुरप्रसाद गैरेले आसन्न महाधिवेशनको मूल एजेन्डा पार्टीको आन्तरिक लोकतन्त्रीकरण, पुस्तान्तरण र समावेशिता हुने बताउनुभएको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले महाधिवेशनलाई संगठन सुधार र नेतृत्व पुनःसंरचनाको निर्णायक अवसरका रूपमा व्याख्या गर्नुभयो । उहाँका अनुसार २७ गते भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन समारोहपछि २८ गतेदेखि भृकुटीमण्डपमा बन्द–सत्र सुरु हुने छ । बन्द–सत्रमा राजनीतिक प्रतिवेदन, विधान प्रतिवेदन र नयाँ केन्द्रीय कमिटीको निर्वाचन प्रमुख कार्यसूची हुने जानकारी उहाँले दिनुभयो ।
गैरेले पार्टीभित्र पुस्तागत जाम हटाउनुपर्ने आवश्यकता दोहोर्याउँदै भन्नुभयो, “पुरानो पुस्ताले सम्मानित भूमिकामा बस्ने र दोस्रो–तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने वातावरण बनाउनुपर्छ ।” उहाँका अनुसार पार्टीमा महिला, दलित, जनजाति, पिछडिएको क्षेत्र तथा ४० वर्षमुनिका युवाको सुनिश्चित प्रतिनिधित्व अब वैधानिक रूपमा लागु गर्ने दिशामा छलफल अघि बढेको छ ।
यतिबेला देशमा भ्रष्टाचारविरोधी अभियान कमजोर हुन पुगेको उल्लेख गर्दै उहाँले सुशासन, रोजगार, उत्पादन वृद्धि र आर्थिक रूपान्तरणका प्रश्नहरूलाई महाधिवेशनले प्रमुख एजेन्डा बनाउनुपर्ने बताउनुभयो ।
सरकारले चुनावको लागि आवश्यक शान्ति–सुरक्षा, निष्पक्ष वातावरण र विश्वसनीयता कायम गर्न नसकेको आरोप उहाँले लगाउनुभयो । “यस अवस्थाका कारण फागुन २१ मा चुनाव सम्भव देखिँदैन,” उहाँले टिप्पणी गर्नुभयो ।
गैरेले पार्टीभित्र उठेको सदस्यता नवीकरण–खारेजीसम्बन्धी विवादले पनि महाधिवेशनमा स्पष्ट जवाफ खोज्ने बताउनुभयो । उहाँका अनुसार महाधिवेशनले एमालेको संगठनात्मक रूपान्तरण, आन्तरिक एकता र नेतृत्वगत सहमतिको नयाँ अध्याय तय गर्ने अपेक्षा गरिएको छ ।