एमाले महाधिवेशन उत्सव र एक जिम्मेवारी बहन गर्ने महत्त्वपूर्ण अवसर हो : सुनिता बराल [भिडिओ]

13
  • सन्तोषी रावल

काठमाडौँ, २५ मङ्सिर । नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा आसन्न महाधिवेशनका लागि अतिथि सत्कार उपसमितिको जिम्मेवारी सम्हालिरहनुभएकी सुनिता बरालले महाधिवेशनलाई केवल पार्टीको कार्यक्रम नभइ उत्सव, जिम्मेवारी र संगठन सुदृढीकरणको महत्त्वपूर्ण क्षणका रूपमा व्याख्या गर्नुभएको छ । क्षेत्र–क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूको सहभागिता रहने महाधिवेशन पार्टी जीवनकै ठुलो उत्सवजस्तै भएको बरालको भनाइ छ ।

बरालका अनुसार महाधिवेशनले नेतृत्व परिवर्तन मात्र होइन, संगठनलाई समन्वय, सहकार्य र सामूहिक नेतृत्वतर्फ लैजाने बाटो खोल्छ । उहाँ भन्नुहुन्छ,“व्यक्ति–केन्द्रित बहस पार्टीको सिद्धान्तसँग मेल खाँदैन । सामूहिक नेतृत्वबाट मात्र थप बलियो बन्छ ।” आगामी कार्यकालमा पनि केन्द्रीय कमिटीमा पुनः निर्वाचित हुने आकाङ्क्षा व्यक्त गर्दै उहाँले नेतृत्वमा सबै पुस्ताको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो ।

‎युवाको सहभागिताबारे बोल्दै बरालले प्रतिनिधि छनोटमा ४० वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व बढेको बताउनुभयो । प्रतिनिधित्व मात्र होइन, त्यसलाई कसरी अर्थपूर्ण बनाउने भन्ने अहिलेको मुख्य चुनौती भएको उहाँको भनाइ छ । “नेतृत्वमा पुस्तान्तरण भन्ने बहसलाई पेचिलो बनाउन जरुरी छैन, नीतिगत रूपमा नै युवालाई अग्रभागमा ल्याइसकेको छ,’ उहाँले स्पष्ट पार्नुभयो ।

‎बरालले महिला सहभागितामा अरू दलभन्दा एमाले अग्रस्थानमा रहेको बताउँदै केन्द्रीय कमिटीमै ३५–४० प्रतिशत महिला प्रतिनिधित्व देखिएको उल्लेख गर्नुभयो । महिलालाई पदीय अवसर मात्र होइन, जिम्मेवारी बोकेर प्रभावकारी नेतृत्व दिन सक्षम बनाउनुपर्ने उहाँको मत छ । “नेतृत्व एक पद होइन, कर्तव्य हो । महिलाले त्यो कर्तव्य निर्वाह गर्ने क्षमता राख्छन्,” उहाँले भन्नुभयो ।

‎देशको समृद्धिका लागि शिक्षा क्षेत्र मुख्य आधार भएको उल्लेख गर्दै बरालले अहिलेको शिक्षा प्रणाली ‘रोजगार खोज्ने’ होइन ‘रोजगार सिर्जना गर्ने’ बनाउनुपर्ने बताउनुभयो । विद्यालय तहबाटै सीप र आत्मविश्वास विकास गर्ने शिक्षा दिन सकेमा विदेश पलायनको दर घट्ने उहाँको तर्क छ । “युवाले यहाँ सम्भावना छैन भन्ने धारणा तोड्नु हाम्रो दायित्व हो,” उहाँले भन्नुभयो ।

हालका राजनीतिक घटनाक्रममा संवादको कमी ठुलो चुनौती बनेको भन्दै उहाँले २३ र २४ गतेका घटनालाई ‘अप्रभावकारी संवादको परिणाम’ भन्नुभएको छ । नीति र निर्णयका बारेमा पार्टी र सरकार दुवैले सफल संवाद गर्न नसक्दा जनस्तरमा भ्रम सिर्जना भएको उहाँको निष्कर्ष छ । “राजनीति कुनै वर्गको विषय होइन, प्रत्येक नागरिकको जीवनसँग गाँसिएको जिम्मेवारी हो,” बरालको टिप्पणी छ ।

आगामी महाधिवेशनतर्फ अघि बढ्दै गर्दा बरालले थप अनुशासित, समावेशी र संगठनात्मक रूपमा बलियो बनाउने आफ्नो प्राथमिकता दोहोर्‍याउनुभयो । पार्टीभन्दा माथि देश र देशभन्दा माथि नागरिकको आकाङ्क्षा भएको उल्लेख गर्दै उहाँले अन्तर–पुस्ता समन्वय, नीति सुधार र संगठन सुदृढीकरणमार्फत् आगामी कार्यकालमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । -नेपाल न्यूज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...