भदौ २३–२४ को आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरता र अनिश्चितता अन्त्य गर्नुपर्छ : पद्‍मा अर्याल

22

काठमाडौँ, २४ मङ्सिर । नेकपा (एमाले)की सचिव पद्‍मा अर्यालले एमालेको महाधिवेशन ऐतिहासिक र राष्ट्रिय दायित्वसँग जोडिएको कार्यक्रम भएकाले यसलाई अनुशासित, भव्य र सकारात्मक सन्देशसहित सम्पन्न गर्न पार्टी सचेत रहेको बताउनुभएको छ ।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आउन चार दिन मात्र बाँकी रहेको जानकारी दिँदै उहाँले राष्ट्र, जनता तथा पार्टीसँग जोडिएका दायित्वहरुलाई कसरी निर्वाह गर्न सकिन्छ भन्ने कुरामा एमाले सचेत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय महाधिवेशनका ऐतिहासिक राष्ट्रिय दायित्व, पार्टीसँग जोडिएका दायित्व, जनतासँग जोडिएका दायित्व र राष्ट्र, जनता तथा पार्टीसँग जोडिएका दायित्वहरुलाई कसरी निर्वाह गर्न सकिन्छ भन्ने कुरामा एमाले सचेत रहनेछ । हामी राष्ट्रिय अभिभारा पूरा गर्ने संकल्पका साथ अगाडि बढिरहेका छौँ । महाधिवेशनलाई अनुशासित तरिकाले भव्य र सकारात्मक सन्देशसहित सम्पन्न गर्नुपर्छ ।”

उहाँले भदौ २३–२४ गतेको आन्दोलनपछि मुलुकको राजनीतिक सन्तुलन बद्लिएको र नेपालको राजनीति दलदलमा फस्ने संकेत देखिएको उल्लेख गर्दै यसले देशलाई अनिश्चितता र अस्थिरताको दिशातर्फ धकेल्ने अवस्था सिर्जना गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भदौ २३, २४ गतेको आन्दोलनपछि मुलुकको राजनीतिक सन्तुलन बद्लिएको छ । नेपालको राजनीति एउटा दलदलमा फस्ने संकेतहरु पनि प्रशस्तै देखिएका छन् । यसले नेपालको राजनीतिलाई एउटा अनिश्चित दिशातर्फ र अस्थिरतातर्फ धकेलिएको अवस्थामा अनिश्चिता र अस्थिरताले मुलुकको हित र जनताको हित हुन सक्दैन । त्यसैले यो राजनीतिक अनिश्चिता र अस्थिरतालाई धेरै लामो रहन दिनु हुँदैन, छिटो भन्दा छिटो यसलाई टुङ्ग्याउनुपर्छ भन्ने कुरामा एमाले पार्टी सचेत छ ।” उहाँले एमालेले आगामी महाधिवेशनमार्फत् पार्टी, जनता र राष्ट्रसँगको दायित्व पूरा गर्ने तथा राजनीतिक स्थायित्व कायम राख्ने उद्देश्य राखेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...