- राजु सिलवाल
काठमाडौँ, २२ मङ्सिर । काठमाडौँ उपत्यकामा दिनहुँ तापक्रम घटदै चिसो बढिरहेको भएता पनि क्रिकेटको रौनकले वातावरण तताउँदै लगेको पाइएको छ । गतवर्ष जस्तै यो वर्ष पनि जाडोको मौसममा एनपिएल क्रिकेटको दोस्रो संस्करणका रोमाञ्चकारी खेलहरु भइरहेका छन् । वर्षा नहुने मौसममा आयोजना गरिएको यो प्रतियोगितामा नेपालीका साथै अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाएका विभिन्न मुलुकका खेलाडीले दिनहुँजसो छक्का र चौकाको वर्षा गरेर दर्शकहरुलाई प्रभावित बनाउन सफल भएका छन् । दिउँसो पारिलो घाममा बसेर क्रिकेट हेर्नुको मज्जा बेग्लै छ ।
नेपालमा पहिलोपटक फ्लड लाइटको उज्यालोमा राति पनि क्रिकेट खेल हुनु ऐतिहासिक उपलब्धि मानिएको छ । नेपाली क्रिकेट खेलाडीहरुले विदेशमा रात्रि खेलको अनुभव गरे पनि नेपालमा भने पहिलोपटक राति खेल्ने अवसर प्राप्त गरेका हुन् । नेपाली दर्शकहरुले पनि पहिलो चोटी रातिको म्याचको रोमाञ्चकारी अनुभव गरिरहेका छन । रातिको चिसोमा पनि कीर्तिपुरस्थित क्रिकेट रङ्गशाला खचाखच भरिने गरेको छ । बिगतमा धुलेमैदानमा बसेर तथा रुखमा झुण्डिएर समेत क्रिकेट हेर्न बाध्य भएका दर्शकहरु रङ्गशालामा निर्माण गरिएको प्याराफिटमा जडान गरिएका रङ्गिन सिटमा बसेर क्रिकेटको आनन्द लिइरहेका छन् । नेपाली दर्शकहरुको क्रिकेटप्रतिको झुकाव देखेर विश्वभरिकै क्रिकेटप्रेमीहरु अचम्म परेका छन् । विभिन्न आठ टिममा आवद्ध अन्तर्राष्ट्रिय ख्यातीप्राप्त खेलाडीलाई पछ्याइरहेका क्रिकेट प्रेमीहरुको माध्यमबाट एनपिएल क्रिकेट विश्वको कुनाकुनासम्म पुग्न सफल भएको छ ।
खेलको पछिल्लो अवस्था
एनपिएल क्रिकेटको प्रारम्भिक चरणको समाप्तिपछि अब खेल झन् प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । अङ्क तालिकामा सर्वाधिक चार स्थान हासिल गरेका टिमहरुबीच हुने प्रतिस्पर्धाले अन्तिम नतिजाको निर्क्योल गर्नेछ । नेपालको सबैभन्दा ठुलो क्रिकेट महोत्सब मानिएको एनपिएल क्रिकेटमा कुल ३२ वटा खेल सञ्चालन भइरहेको छ । प्रतियोगितामा सहभागी रहेका आठ वटा टिम प्रत्येकले प्रारम्भिक चरणमा एक अर्को टिमसँग प्रतिस्पर्धा गर्दै कुल सात खेल खेलेका थिए । पहिलो चरणको समाप्तिपछि एनपिएल क्रिकेटको प्लेअफ चरणका खेलहरु मङ्सिर २३ गते मङ्गलबारदेखि सुरू हुँदै छ । राउण्ड रोबिनपछि उच्च अङ्क हासिल गरेका चार वटा टिमबीच प्लेअफ चरण सुरु हुनेछ ।
अङ्क तालिकामा सर्वाधिक १२ अङ्क हासिल गरेको सुदूरपश्चिम रोयल्स तथा दोस्रो सर्वाधिक १० अङ्क प्राप्त गर्ने बिराटनगर किङ्गसबीच मङ्गलबार क्वालिफायर १ को खेल हुने छ । यसपटक एनपिएल क्रिकेटमा लगातार छ खेलमा विजय हासिल गरेर उच्च मनोबलका साथ मैदानमा उत्रेको सुदूरपश्चिमलाई विराटनगरले आक्रामक खेल प्रस्तुत गरेर शनिबारको खेलमा पराजित गरेपछि मङ्गलबारको खेलमा दुवै टिम अझ आक्रामक रुपमा उत्रने अपेक्षा दर्शकहरुले गरेका छन् । विराटनगर तथा काठमाडौँँ एभेन्जर्स दुवै टिमको समान दश दश अङ्क भएता पनि नेट रनरेटको आधारमा विराटनगरले क्वालिफायर १ मा खेल्ने अवसर पाएको हो ।
यसैगरी मङ्सिर २४ गते बुधबार अङ्क तालिकामा तेस्रो स्थानमा रहेको काठमाडौँँ गोर्खाज र चौथो स्थानमा रहेको लुम्बिनी लायन्सबीच इलिमिनेटर १ खेल हुने छ । काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई यसअघि लिग चरणमा ५३ रनले हराइसकेको छ । मङ्सिर २५ गते बिहीबार क्वालिफायर २ अन्तर्गतको खेल हुने छ। उक्त खेलमा प्लेअफ म्याचको विजेता तथा क्वालिफायर १ पराजित हुने टिमबीच खेल हुनेछ । आगामी मङ्सिर २७ गते शनिबार क्वालिफायर १ का विजेता तथा क्वालिफायर २ का विजेताबीच फाइनल खेल हुने कार्यक्रम छ ।
प्लेअफ चरणमा पुग्ने टिमहरु
सुदूरपश्चिम रोयल्स
कुनै पनि खेलमा सहभागी भएका खेलाडीहरुले सुखद् होस् वा दुःखद् जस्तोसुकै नतिजाको पनि सामना गर्नु पर्ने सन्देश गत शनिबारको खेलपछि सुदूरपश्चिम रोयल्स टिमले हासिल गरेको नतिजाले दिएको छ । एनपिएल क्रिकेटमा यसपाली आफ्नो बर्चस्व प्रदर्शन गर्दै लगातार छ वटा खेल जितेर १२ अङ्कसहित तालिकाको उच्चस्थानमा पुग्न सफल भएको सुदुरपश्चिमले लिग चरणको अन्तिम खेलमा भने विराटनगरसँग लज्जाजनक रुपमा पराजय भोग्नु पर्यो । उक्त खेलमा सुदूरपश्चिम विराटनगर किङ्गससँग ४९ बल बाँकी रहेको समयमै ६ विकेटले पराजित भएको थियो । यसअघि दुई वटा खेल बाँकी रहेकै अवस्थामा सुदूरपश्चिम क्वालिफायर १ मा प्रवेश गरेको थियो । एनपिएल क्रिकेटको गतवर्ष पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएर सुदूरपश्चिम शीर्ष स्थानमा पुगेको थियो । उक्त टिमले चितवन राइनोज टिमलाई ४९ रनले, काठमाडौँ गोर्खाजलाई २९ रनले, पोखरा एभेन्जर्सलाई १८ रनले, कर्णाली याक्सलाई ४५ रनले, लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको थियो । सुदूरपश्चिम टिम गतवर्षको उपविजेता टिम थियो ।
काठमाडौँ गोर्खाज
प्लेअफ चरणमा प्रवेश गर्न सफल दोश्रो टिम काठमाडौँ गोर्खाजले पाँच वटा खेलमा जित्नुका साथै दुई खेलमा पराजय भोगेको थियो । उक्त टिमले जनकपुर बोल्टसलाई ५ विकेटले, लुम्बिनी लायन्सलाई २२ रनले, चितवन राईनोजलाई ५३ रनले, कर्णाली याक्सलाई ५ विकेटले तथा पोखरा एभेन्जर्सलाई १३ रनले हराएको थियो । यसैगरी सो टिमले सुदूरपश्चिम रोयल्ससँग २९ रनले तथा विराटनगर किङ्गससँग ५ विकेटले हार ब्यहोरेको थियो ।
विराटनगर किङ्ग्स
विराटनगर किङ्ग्स पनि एक खेल खेल्नु अगाडिनै प्ले अफ चरणमा प्रवेश गरेको थियो । तर, सुदूरपश्चिमलाई पराजित गरेपछि विराटनगर र काठमाडौँ गोर्खाजको समान दश–दश अङ्क भएता पनि रन रेटको आधारमा सुदूरपश्चिमसँग क्वालिफायर्स १ खेल्ने मौका पाएको हो । विराटनगरले यसपाली लिग चरणमा पाँच खेलमा जित्नुका साथै दुई खेलमा पराजय ब्यहोरेको थियो । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो । सो खेलमा विराटनगरले बनाएको २२० रन नै यसपटकको प्रतियोगिताको सर्वाधिक रन बन्न पुग्यो । विराटनगरले काठमाडौँ गोर्खाजलाई ५ विकेटले, गतवर्षको विजेता जनकपुर बोल्टसलाई ९ रनले, कर्णाली याक्सलाई ३ विकेटले तथा सुदूरपश्चिमलाई ५ विकेटले हराएको थियो । विराटनगर टिम चितवन राइनोजसँग ४८ रनले तथा लुम्बिनी लायन्ससँग ३ विकेटले पराजित भएको थियो ।
लुम्बिनी लायन्स
लुम्बिनी लायन्सले गतवर्षको विजेता जनकपुर बोल्टसलाई ४ विकेटले हराउँदै प्लेअफ चरणमा पुग्न सफल भएको थियो । प्लेअफमा चौंथो टिमका रुपमा प्रवेश गर्न सफलता पाएसँगै जनकपुरका साथै पोखरा तथा चितवन टिम पनि प्रतियोगिताबट बाहिरिएका छन् । यसअघि लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले,पोखरा एभेन्जर्सलाई ३ विकेटले तथा विराटनगर किङ्गसलाई ५ विकेटले हराएको थियो । उक्त टिम कर्णाली याक्ससँग ९ विकेटले तथा सुदूरपश्चिम रोयल्ससँग ७ विकेटले हारेको थियो । कर्णाली टिम प्लेअफमा भने पुग्न असफल हुने पहिलो टिम थियो ।
शतक कटाउने भाग्यमानी
यसपटक नेपाली तथा विदेशी गरी धेरैले अर्धशतक रन बनाएका थिए तर हालसम्म दुई विदेशी खेलाडी मात्र शतक कटाउन सफल भएका छन् । पोखरा एभेन्जर्सका एडम रोसिङ्गटनले कर्णाली याक्ससँगको खेलमा १०८ रन बनाएका थिए । इङ्गल्याण्डका ३२ वर्षीय रोसिङ्गटनले ५८ बलमा ११ चौका तथा ७ छक्कासहित शतक बनाएका थिए । यस्तै, कर्णाली याक्सका लागि स्कटल्याण्डका २९ वर्षीय मार्क वाटले लुम्बिनीविरुद्धको खेलमा ११४ रन बनाएका थिए । हालसम्म सर्वाधिक रन बनाएका खेलाडीहरुमा पोखरा एभेन्जर्सका एडम रोसिङ्गटनले ३२३ रन, कर्णाली याक्सका मार्क वाटले २४२ रन तथा रवि बोपराले २३७ रन बनाउन सफल भएका छन् ।
सर्वाधिक विकेट
हालसम्मका खेलमा सर्वाधिक विकेट लिन सफल खेलाडीहरुमा विराटनगर किङ्गसका कप्तान सन्दीप लामिछाने अग्रपङ्तिमा छन् । उनले हालसम्म कुल १५ विकेट लिएका छन् । यस्तै, सुदूरपश्चिम रोयल्सका अविनाश बोहराले १४ विकेट तथा काठमाडौँ गोर्खाजका साहब आलमले १२ विकेट लिएका छन् । उनले पोखराविरुद्धको खेलमा ह्याट्रिकसहित ६ विकेट लिन सफल भएका थिए ।
विदेशी खेलाडीको सक्रियता
एनपिएल क्रिकेटमा गत संस्करणमा जस्तै यसपाली पनि सहभागी प्रत्येक टिमले चार विदेशी खेलाडीलाई आफ्नो टिमका तर्फबाट खेलाएका छन् । तर, ती खेलाडीमध्ये कोही पूरै खेल अवधिभर नै खेल्दैछन् भने कतिपय खेलाडी केही म्याच खेलेर काठमाडौँबाट फर्किसकेका छन् । अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताकालागि पनि अनुबन्ध भएको कारणले उनीहरु फर्कनु परेको हो तर केही विदेशी खेलाडी प्रतियोगिता जारी भएको अवस्था पनि आएका थिए ।
नेपाली क्रिकेट प्रेमीहरुले अन्तर्राष्ट्रिय रुपमै ख्यातिप्राप्त गरिसकेका विभिन्न विदेशी खेलाडीको उत्कृष्ठ ब्याटिङ, बलिङ, फिल्डिङ हेर्ने अवसर पाएका छन् । प्रत्येक खेलमा कुनै पनि टिमलाई विजयी बनाउन विदेशी खेलाडीहरुको पनि महत्त्वपूर्ण भूमिका रहेको पाइएको छ । हरेक म्याचमा प्रदान गर्ने गरिएको उत्कृष्ठ खेलाडी पुरस्कार नेपालीका साथै विदेशीले समेत पाएका छन् । विदेशी खेलाडीले यसपटक पहिलोचोटी नेपाली टिमको कप्तानको जिम्मेवारी समेत पाएका छन् । गत संस्करणको विजेता जनकपुर बोल्ट्स लगातार पराजय हुँदै गएपछि साबिकका कप्तान अनिल साहलाई परिवर्तन गरी पहिलोपटक विदेशी खेलाडी वायन पार्नेललाई जिम्मेवारी दिइएको थियो । जनकपुरले लुम्बिनीसँगको खेलमा पुनः कप्तान परिवर्तन गरी अर्का विदेशी खेलाडी जोन निकोल लफ्टी इटनलाई कप्तान बनाएको थियो ।
नेपाली खेलाडीहरुले ख्यातिप्राप्त अन्तर्राष्ट्रिय खेलाडीहरुसँग एकै टिममा रहेर खेल्दै व्याक्तिगत रुपमा परिचित हुने अवसर पाउनुका साथै खेल कौशल सिक्ने मौका पाएका छन् । विदेशी खेलाडीहरुले नेपालमा सबैभन्दा रुचाएको सन्दर्भ भने नेपाली प्राकृतिक सुन्दरता तथा नेपाली दर्शकहरुको क्रिकेटप्रतिको अत्यधिक अभिरुचि हो । संसारका विभिन्न रङ्गशालामा क्रिकेट खेलिसकेका अन्तर्राष्ट्रिय खेलाडीहरुले नेपाली दर्शकहरुका साथै नेपालको प्राकृतिक सुन्दरताको खुलेर प्रसंसा गरेका छन् ।
आमाप्रति सम्मान
एनपिएल क्रिकेट खेलाडीहरुको आमाप्रति सम्मान जनाउने महत्त्वपूर्ण माध्यम पनि बन्न पुग्यो । कतिपय नेपाली खेलाडीका आमा आफ्नो छोराको म्याच हेर्न रङ्गशालामा उपस्थित हुनुभएको थियो । जनकपुर बोल्ट्स टिमका खेलाडी ललित राजवंशीकी आमा शुभकुमारी देवीको गत साउनमा निधन भएको थियो । खेलाडी राजवंशीले मङ्सिर ११ गतेको खेलमा दिवंगत आमाको नाम अङ्कित जर्सी लगाएर मैदानमा उत्री आमाप्रति सम्मान व्यक्त गरेका थिए । सोही टिमका अन्य खेलाडीले पनि आआफ्ना आमाको नाम अङ्कित जर्सी लगाएर खेलेका थिए । पोखरा रेन्जर्सले भने हरियो रङको वैकल्पिक जर्सी लगाएर वातावरणप्रति चेतना जगाउने कार्य गरेको थियो । जनकपुर टिमका खेलाडीहरुले लगाएका वैकल्पिक जर्सी लिलाम बिक्री गरेर जेनजी आन्दोलनका क्रममा सन्तान गुमाएका आमाहरुलाई सहयोग गरिने लक्ष्य राखिएको छ । यस्तै, पोखरा टिमको जर्सी बिक्रीबाट उठेको रकम वातावरण संरक्षणमा क्रियाशील सङ्घसंस्थालाई प्रदान गरिने भएको छ ।
अम्पायर पनि नेपाली
एनपिएल क्रिकेटको खेल सञ्चालनकाक्रममा हालसम्म खासै ठुलो विवाद भएको पाइएको छैन । नेपाली तथा विदेशी खेलाडीहरुले एउटै टिममा आबद्ध भएर खेलमा प्रतिस्पर्धा गरिरहेको जस्तै खेल सञ्चालनका लागि अम्पायर तथा म्याच अफिसियल जस्तो निर्णायकको भूमिकामा पनि नेपाली तथा विदेशीहरुको एकसाथ संलग्नता रहेको छ । खेल सञ्चालनमा केही विदेशीका साथै नेपाली अम्पायर पनि क्रियाशील रहेका छन् । बुद्धि बहादुर प्रधान, दुर्गानाथ सुवेदी, विनयकुमार झालगायतका नेपाली अम्पायरले फिल्ड अम्पायर, थर्ड अम्पायर, टिभी अम्पायर जस्तो भूमिका निर्वाह गरिरहेका छन् ।
मिलेमतोप्रति सतर्कता
जारी क्रिकेटमा मिलोमतोबाट नतिजा निकाल्ने कार्य हुन नपाओस् भन्दै नेपाल क्रिकेट सङ्घ क्यानले विशेष सर्तकता अपनाएको छ । एनपिएल क्रिकेट सञ्चालन भइरहेको बेला अनलाइन बेटिङमा संलग्न भएको आरोपमा केही व्यक्तिलाई पक्राउ गरिएको थियो । यसमा भारतीय नागरिकको सङ्ख्या बढी रहेको छ । कीर्तिपुर रङ्गशालामा खेल सञ्चालन भइरहेको अवस्थामा समेत अनलाइन बेटिङको आरोपमा दर्शकदीर्घाबाटै मानिसहरु पक्राउ पर्नु गम्भीर विषय भएको मानिएको छ । प्रतियोगिता अवधिभरका लागि सुरक्षा कायम गर्न नेपाल प्रहरीले करिब १२ सय सुरक्षाकर्मी खटाएको छ । प्रहरीले एनपिएलकै लागि छुट्टै कन्ट्रोल कक्ष निर्माण गरी ४० वटा सिसिटिभीमार्फत् प्रत्यक्ष रुपमा निगरानी गरिरहेको छ । रातिको समयमा खेल सञ्चालन हुँदा रङ्गशालामा जडान गरिएको फ्लडलाइटको प्रकाशले पनि सुरक्षाका लागि सहज भएको तथा ड्रोनमार्फत् पनि रङ्गशालाको निगरानी गर्ने गरिएको प्रहरी अधिकारीले जनाएका छन् । यसैगरी प्रतियोगिताका सहभागी खेलाडी तथा अफिसियलहरुको निगरानी सुरक्षाका लागि छुट्टै सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
एनपिएल क्रिकेटका हालसम्म भएका खेलका क्रममा भएका त्रुटीहरुलाई सुधार गर्नेतर्फ क्यानको ध्यान जानु जरुरी देखिएको छ । क्रिकेट म्याच हुन आतुर हुँदै कीर्तिपुर पुग्ने दर्शकहरुको भीड अत्यधिक देखिएकाले उनीहरुको उचित व्यवस्थापन गर्नु अत्यावश्यक मानिएको छ । कतिपय खेलमा हेर्न गएका दर्शकहरुलाई टिकट बिक्री भइसकेको जानकारी दिइएता पनि प्याराफिटमा सिट खाली देखिनु तालमेल देखिँदैन । टिकटको कालो बजारी हुने गरेको गुनासो पनि दर्शकहरुले गर्ने गरेका छन् । यस्तै, खेलका क्रममा बेलाबेलामा फ्लडलाइटमा आएका समस्यालाई तत्काल समाधान गर्नु पर्ने देखिएको छ । रङ्गशाला वरिपरि तत्काल सरसफाइ गरी वातावरण स्वच्छ राख्न सम्बन्धित अधिकारीले ध्यान दिनुपर्छ ।
एनपिएल क्रिकेटको पहिलो संस्करणको सफलतापछि उत्साहित हुँदै नेपाल सरकारले क्रिकेटलाई उचित प्राथमिकता दिएर भौतिक पूर्वाधारतर्फ जुन लगानी गरेको छ, त्यसले दोस्रो संस्करण अझ स्तरीय हुन पुगेको छ । नेपालको सबैभन्दा ठुलो फ्रेन्चाइज प्रतियोगिताका लागि निजी क्षेत्रले दिएको प्राथमिकता पनि प्रशंसनीय रहेको छ । यसको निरन्तरताका लागि लचिलो नीति ल्याएर निजी क्षेत्रको प्रतिबद्धतालाई अन्य खेलहरुमा समेत विस्तार गर्न सरकारको ध्यान जानु जरुरी देखिएको छ । –रासस