युवा पुस्ताको हुटहुटीलाई कांग्रेसले सम्बोधन गर्नैपर्छ : डा.डिला सङ्ग्रौला [भिडिओ]

16

काठमाडौँ, २१ मङ्सिर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले आगामी पुस २६, २७ र २८ गते हुने १५औँ राष्ट्रिय महाधिवेशन पार्टीको रूपान्तरण, शुद्धीकरण र विश्वास निर्माणका लागि ऐतिहासिक अवसर भएको बताउनुभएको छ । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उहाँले यस्तो बताउनुभयो ।

महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको बहस, जनतामा बढ्दै गएको राजनीतिक बेचैनी र देशको जटिल परिस्थितिले कांग्रेसलाई निर्णायक मोडमा उभ्याएको उहाँको बुझाइ छ । “यो अब सामान्य महाधिवेशन होइन, पार्टी र देशको भविष्य चयन गर्ने मोड पनि हुनेछ,” उहाँले भन्नुभयो ।

लामो आन्तरिक बहस र धेरै केन्द्रीय सदस्यहरूको दबाबपछि महाधिवेशन नियमित रूपमा गर्ने निर्णयले कांग्रेसभित्र नयाँ ऊर्जा थपेको संग्रौलाले बताउनुभयो । उहाँका अनुसार कार्यतालिका कडा देखिए पनि समय र परिस्थिति अब थप ढिलाइ सहन नसक्ने स्तरमा पुगेकाले कांग्रेसले समयमै महाधिवेशन गर्नु अनिवार्य थियो ।

पार्टीको पेसागत बुद्धिजीवी विभाग प्रमुख समेत रहनुभएका उहाँले भन्नुभयो, “हामीले जति गुनासो गरे पनि मुलुक दुई दिनमै बदलिन सक्छ भन्ने इतिहास छ । कांग्रेसले चाहेर लाग्यो भने यो कार्यतालिकामा सम्भव छ ।”

कुराकानीका क्रममा संग्रौलाले हालै भएको जेनजी–युवा आन्दोलन र देशभर देखिएको असन्तोषलाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार भदौ २३ र २४ गतेका घटनाले मुलुकको राजनीतिक धरातल नै हल्लाएको छ । “युवाहरूले प्राण दिए, ठुलो बलिदान भयो । त्यो घटनाको छानबिन त हुनु नै पर्छ, तर त्यसले मुलुकलाई नयाँ बाटोतिर मोड्ने चेतना जगाएको छ,” उहाँले भन्नुभयो ।

युवा पुस्ताको ‘हुटहुटी’ लाई कांग्रेसले सम्बोधन गर्नैपर्ने उहाँको स्पष्ट धारणा छ । ४० प्रतिशत युवा सहभागिता चाहिन्छ भने उनीहरुका लागि नेतृत्वको ढोका पनि खोल्नुपर्ने उहाँले बताउनुभयो । युवाहरुहरूले यतिबेला आफ्नो प्रतिनिधित्व मात्र नभइ निर्णय निर्माणमा नेतृत्व खोजिरहेको उहाँले बताउनुभयो ।

संग्रौलाले कांग्रेसले आत्मालोचना गर्नुपर्ने समय आएको बताउनुभयो । ०४६ सालपछि लाभका पदमा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने उहाँको स्पष्ट माग छ । आन्तरिक सुशासन आयोग गठन गरी पार्टीभित्रैबाट शुद्धीकरण सुरु गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

“जबसम्म पार्टीभित्रै पारदर्शिता र जवाफदेहिताको पुनर्जागरण हुँदैन, जनताले कांग्रेसप्रति विश्वास गर्लान् भनेर सोच्नु बेकार हुन्छ,” संग्रौलाले भन्नुभयो । उहाँले भ्रष्टाचारविरुद्धको कठोर आन्दोलनको कांग्रेसले नै नेतृत्व गर्नुपर्ने बताउनुभयो । यतिबेला कांग्रेसभित्रको संगठनमा ताजकीकरण र समावेशी नेतृत्वको आवश्यकता रहेको उहाँको बुझाइ छ ।

पार्टीको नेतृत्व गर्ने निकायमा महिला, युवा, आदिवासी, मधेसी, थारु, मुसलमान, दलितलगायत सबै समुदायको समावेशी सहभागिता बढाउनु कांग्रेसको दीर्घकालीन अस्तित्वका लागि जरुरी रहेको संग्रौलाको भनाइ छ । उहाँले कांग्रेसले विधान संशोधनमार्फत् युवाको न्यूनतम ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने पनि बताउनुभयो ।

महिलाको नेतृत्वबारे बोल्दै उहाँले भन्नुभयो, “कांग्रेसभित्र यतिबेला ५४ प्रतिशत महिला सक्रिय सदस्य छन् । तर, पदाधिकारीमा महिला निकै सीमित छन् । यसलाई परिवर्तन गर्नैपर्छ । उपसभापति, महामन्त्रीदेखि सहमहामन्त्रीमा पनि महिला सहभागिता बढाउनु अत्यावश्यक छ ।”

निर्वाचन वातावरण र हालको चुनौती
फागुन २१ गते हुने निर्वाचनलाई कांग्रेसले ‘मुभमेन्ट’ को रूपमा लिन निर्णय गरिसकेको बताउँदै संग्रौलाले हाल देशमा सुरक्षा र राजनीतिक वातावरण चुनौतीपूर्ण रहेको बताउनुभयो ।

जेनजी पुस्ताद्वारा गरिएको आन्दोलनका क्रममा प्रहरी चौकीहरू ध्वस्त, हतियार लुटिने, कैदीबन्दी फरार हुने घटनाले सुरक्षाकर्मीको मनोबल कमजोर बनाएको बताउँदै उहाँले भन्नुभयो, “सेना परिचालनको कुरा आउन थालेको छ । यस्तो अवस्थामा दलहरूलाई मतदातासँग संवाद गर्ने वातावरण सुनिश्चित गर्न सरकार जिम्मेवार हुनुपर्छ ।”

तर, संग्रौला निर्वाचनतर्फ विस्तारै सकारात्मक वातावरण बढ्दै गएको अनुभव गर्नुहुन्छ । “जनता विकल्प खोजिरहेका छन्, पुराना दलहरूलाई पुनः मूल्यांकन गर्ने मनस्थितिमा छन् । कांग्रेसले विश्वास जगाउने मौका यही हो,” उहाँले भन्नुभयो ।

कांग्रेसभित्र नयाँ नेतृत्वबारे बहस तीव्र बन्दै गएको बताउँदै संग्रौलाले सोसल मिडिया र जनमतमा देखिएका अपेक्षाहरूलाई पार्टीले संवेदनशीलतापूर्वक लिनुपर्ने बताउनुभयो । “हामीले जसलाई चाहन्छौँ मात्र होइन, देश र समयले मागेको नेतृत्व आउनुपर्छ,” उहाँले भन्नुभयो ।

युवापुस्ता, नयाँ विचार र रूपान्तरणको मान्यता बोकेर आउने नेता नै मुलुकलाई गन्तव्यमा पुर्‍याउन सक्षम हुने संग्रौलाको विश्वास छ । उहाँ भन्नुहुन्छ, “कांग्रेस हरपटक संकटमा निर्णायक भूमिका खेलेको पार्टी हो, अहिले फेरि त्यो क्षण आएको छ ।”

संग्रौलाको राजनीतिक यात्राः विद्यार्थी आन्दोलनदेखि राष्ट्रिय नेतृत्वको आकांक्षा
दाङ जिल्लाको तेरोटेमा जन्मिनुभएकी डिलाले विसं. २०३६ सालको जनमत संग्रहमा बिपी कोइराला र गणेशमान सिंहले नेतृत्व गरेको आन्दोलनमा विद्यार्थी नेताका रूपमा सक्रिय भइ आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । विवाहपछि विराटनगरलाई कर्मथलो बनाउनुभएकी उहाँले केही समय प्राध्यापन पनि गर्नुभएको थियो । उहाँ कांग्रेस संगठन, महिला संघ र जिल्ला कमिटी मोरङको उपसभापति हुँदै राष्ट्रिय राजनीतिमा पनि सक्रिय हुनुभयो ।

महिला हिंसाविरुद्धको अभियानमा संग्रौलाले उल्लेखनीय भूमिका खेल्नुभएको छ । निर्मला पन्त हत्या प्रकरणदेखि बैतडीकी भागीरथाको बलात्कार–हत्या घटनामा उहाँले देशव्यापी आन्दोलन चलाउनुभयो । “सरकार भेटिन्छ, न्याय भेटिँदैन भन्ने अवस्था बदल्न आवश्यक छ,” उहाँले बताउनुभयो ।

प्रतिनिधि सभा सदस्यका रूपमा उहाँले सत्तासीन सरकार भए पनि, प्रतिपक्षमा भए पनि, सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने भूमिकामा आफू सक्रिय रहेको बताउनुभयो । किसानले मल नपाएको मुद्दा, महङ्गी, सुशासन, महिलामाथिको हिंसा, लोकतान्त्रिक मूल्यको संरक्षण उहाँका प्रमुख विषय रहे ।

१४औँ महाधिवेशनमा पनि पदाधिकारीका लागि देशभर दौडधूप गर्नुभएकी संग्रौलाले यसपटक पनि पदाधिकारी स्तरमा प्रतिस्पर्धा गर्ने अठोट व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गइदिन्छु भन्ने सोच होइन, जानैपर्छ भन्ने अठोट छ । महिलाहरूको आवाज बुलन्द गरिसकेकी हुँदा नेतृत्वमा पुग्ने मेरो दायित्व पनि बनेको छ ।”

महिला संघमा लामो समय नेतृत्व गर्नुभएकी उहाँले विगतका निर्वाचनहरूमा महिलालाई न्याय नदिएको तथ्य कांग्रेस नेतृत्वले आत्मसात गर्नुपर्ने बताउनुभयो । “जसले कांग्रेसलाई कठिन समयमा बोक्यो, त्यहीँ गल्लीका महिलाहरू नै थिए । तर, नेतृत्वमा उनीहरू पुगेनन्, अब त्यस्तो अन्याय हुनु हुँदैन ।”

महाधिवेशनबाट आशाः ‘कांग्रेस फेरि सच्चिएर उठ्नेछ’
संग्रौलाले देश आज आर्थिक, सामाजिक र राजनीतिक जटिलतामा परेको बताउँदै कांग्रेसले समग्र मुलुकलाई जोड्ने, असन्तुष्ट समुदायलाई सम्बोधन गर्ने र नयाँ पुस्तालाई विश्वास दिलाउने काम महाधिवेशनमार्फत् गर्नुपर्ने बताउनुभयो ।

रूपान्तरणको एजेन्डा स्पष्ट, शासकलाई चुनौती दिने क्षमता बलियो र युवालाई नेतृत्वमा उक्ल्याउने संकल्पसहित कांग्रेस फेरि जनताको पहिलो विकल्प बन्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “जनताले नयाँ दलतर्फ हेर्न थालेका छन् । तर, पुराना दल सक्किएका होइनन, सच्चिन बाँकी छ । कांग्रेस सच्चिएर अघि बढे जनताले फेरि विश्वास गर्छन्,” संग्रौलाले भन्नुभयो ।

महाधिवेशनलाई उहाँले कांग्रेसको भविष्य मात्र होइन, मुलुकको भविष्य तय गर्ने निर्णायक अवसरका रूपमा पनि लिनुपर्ने बताउनुभयो । “हामीले यो अवसर गुमायौँ भने जनताको भरोसा फर्काउन कठिन हुन्छ । तर, रूपान्तरणका एजेन्डासहित हामी अघि बढ्यौँ भने कांग्रेस फेरि देशको केन्द्रबिन्दु बन्न सक्छ । म तयार छु, संघर्षमा पनि, नेतृत्वमा पनि ।” –नेपाल न्यूज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...