- सन्तोषी रावल
काठमाडौँ, २० मङ्सिर । नेकपा (एमाले)का नेता विनोद ढकालले पार्टीमा विद्या भण्डारीको सदस्यता नवीकरण रोकिनु जायज नभएको प्रतिक्रिया दिनुभएको छ । उहाँले भण्डारीमाथि अन्याय भएको दाबी गर्नुभयो ।
नेपाल न्यूज बैङ्कसँगको कुराकारीमा ढकालले ३७ सालदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय भण्डारीलाई पार्टी राजनीतिक जीवनमा फर्किन चाहने अधिकारबाट बन्चित गर्न नहुने बताउनुभयो । आगामी महाधिवेशनले उक्त विषय सच्याउनुपर्ने धारणा राख्नुभयो । भण्डारी राजनीतिक नेतृत्व र संघर्षको लामो इतिहास भएकाले उहाँलाई रोक्नु अन्याय भएको बताउनुभयो ।
एमाले महाधिवेशन प्रतिनिधि समेत रहनुभएका ढकालले पार्टीको ११औँ महाधिवेशन, नेतृत्व चयन, आन्तरिक राजनीति, पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, हालको जेनेरेशन आन्दोलन, तथा युवाहरूको विदेश पलायनसम्मका विषयमा फरक कोणबाट आफ्नो धारणा राख्ने क्रममा आगामी नेतृत्व प्रतिस्पर्धाबाटै चयन हुने बताउनुभयो ।
ढकालका अनुसार एमाले हाल पूर्ण रूपमा ११औँ महाधिवेशनको तयारीमा केन्द्रित छ । नेतृत्व चयनको विषयमा पार्टीभित्र बहस भइरहेको उहाँले बताउनुभयो । प्रतिनिधिहरू छानिसक्दा केही स्थानमा विवाद हुँदा पुनः निर्वाचन चलिरहेको उहाँले जानकारी दिनुभयो ।
नेतृत्व सहमतिबाट बन्ने कि प्रतिस्पर्धाबाट भन्ने विषय महाधिवेशनको हलमै टुंगिने उहाँले उल्लेख गर्नुभयो । पार्टीभित्रको अहिलेको बहसलाई ‘गुटबन्दी’ भन्न गलत हुने भन्दै उहाँले यो स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भएको बताउनुभयो ।
अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै नेतृत्वका आकाङ्क्षी हुनु स्वाभाविक भएको भन्दै ढकालले सहमतिका प्रयास भइरहे पनि सहमति नजुटे प्रतिस्पर्धा अपरिहार्य हुने बताउनुभयो ।
ओली तेस्रो कार्यकाल चाहने पक्षमा भए पनि पोखरेलले पनि आफ्नो स्वाभाविक दाबी राखेकाले महाधिवेशनमै निर्णय हुने उहाँले बताउनुभयो । कार्यकर्ताहरू भने सहमतियुक्त नेतृत्व निर्माणमा जोड रहेको उहाँले बताउनुभयो ।
हालको जेनजी आन्दोलनबारे ढकालले भदौ २३ र २४ गतेको घटनालाई छुट्टै दृष्टिले हेर्नुपर्ने बताउनुभयो । पारदर्शिता, भ्रष्टाचारविरुद्ध तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा युवाले उठाएको मुद्दा सही भए पनि आन्दोलनमा घुसपैठ, राज्यको अत्यधिक दमन गलत भएको टिप्पणी गर्नुभयो । भदौ २४ गतेको अराजक घटनालाई उहाँले ‘लोकतन्त्रलाई चुनौती दिने तथा राज्यसत्ता उल्ट्याउने प्रयास’ भनेर वर्णन गर्नुभएको छ ।
युवाहरू विदेशिने बढ्दो प्रवृत्तिबारे टिप्पणी गर्दै ढकालले यो विश्वव्यापी ट्रेन्ड भएको बताउनुभयो । गरिबी वा अवसर अभाव मात्र होइन, रुचि, जीवनशैली र आकाङ्क्षाले पनि युवाहरू विदेशिने गरेको उहाँको विश्लेषण छ ।
भारत, बंगलादेश, श्रीलङ्का, जापान, इन्डोनेसियालगायतका मुलुकबाट पनि ठुलो संख्यामा मानिस विदेश जाने गरेको उदाहरण दिँदै उहाँले नेपालमात्रै समस्याग्रस्त देशजस्तो चित्रण गर्नु गलत भएको बताउनुभयो ।
ढकालले नेपालको समग्र राजनीतिक इतिहास पुनः स्मरण गर्दै ३० वर्षको पञ्चायती शासनदेखि बहुदल, माओवादी द्वन्द्व, गणतन्त्र स्थापनासम्मका चुनौतीका कारण मुलुकलाई स्थिर विकासमा समय लागेको बताउनुभयो ।
जेनजीले उठाएका प्रश्नहरूलाई सकारात्मक चुनौतीका रूपमा लिनुपर्ने बताउँदै उहाँले दलहरू, मिडिया र समाजले नकारात्मकता मात्र फैलाउने प्रवृत्तिको पनि आलोचना गर्नुभयो ।
युवा पुस्तालाई पुनः राजनीतिमा आकर्षित गर्न एमालेले ४० वर्षमुनिका प्रतिनिधि र नेतृत्वलाई बढावा दिइरहेको ढकालले बताउनुभयो । वैचारिक प्रशिक्षण, संगठन सुदृढीकरण र युवा लक्षित कार्यक्रममार्फत् पार्टीले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने तयारी गरेको उहाँले जोड दिनुभयो ।
“बदलिँदै गएको सामाजिक मनोविज्ञान, युवाको असन्तुष्टिलाई सम्बोधन गर्दै एमाले पुनः सशक्त दलका रूपमा स्थापित हुन्छ,” उहाँले भन्नुभयो, “महाधिवेशनमा ४० वर्षमुनिका प्रतिनिधिहरूलाई अनिवार्य समावेश गरिएको र केन्द्रीय कमिटीसम्म युवा सहभागिता बढाइने छ ।”
उहाँले युवा पुस्तालाई विचार, अनुशासन र राजनीतिक प्रशिक्षणमार्फत् सशक्त बनाउने अभियानमा एमाले अघि बढ्ने बताउनुभयो । हालको असन्तुष्टि र प्रश्नलाई शिक्षाका रूपमा लिनुपर्ने र पार्टीले पुनः आत्मसुधार पुनः अर्गनाइजेसनमार्फत् सशक्त भएर फर्किने उहाँले विश्वास व्यक्त गर्नुभयो । –नेपाल न्यूज बैङ्क