भक्तपुर, १९ मङ्सिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले निर्वाचनबाट कहिल्य नभागेको र नभाग्ने पनि बताउनुभएको छ ।
शुक्रबार भक्तपुर जिल्ला कमिटीद्वारा ११औँ राष्ट्रिय महाधिवशनको सन्दर्भमा आयोजित जिल्ला भेलामा उहाँले एमाले लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनसँग नभाग्ने बताउँदै भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
उपमहासचिव ज्ञवालीले भन्नुभयो, “एमाले निर्वाचनबाट कहिल्यै भागेन र आगामी दिनमा पनि भाग्दैन । कसले चुनाव गराउँछ भन्ने सरकोरभन्दा पनि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा एमालेले जोड दिन्छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनताले निधक्क भएर मतदान गर्न सक्ने अवस्था र वातावरण तयार हुनुपर्छ ।”
महाधिवेशन सकिएपछि आगामी पुस १ गतेदेखि देशको राजनीतिक बाटोको खाका खुल्ने दाबी गर्दै उहाँले महाधिवेशनबाट आएको परिणामलाई स्विकार्दै एमाले एक ढिक्का र एकताबद्ध भएर पार्टी, देश, लोकतन्त्र, संविधान र राष्ट्रियता जोगाउन अग्रस्थानमा रहेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेत, एमाले केन्द्रीय सदस्यहरू सोम मिश्र, निर्मल भट्टराई, एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवम् बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापालगायतले महाधिवेशन भव्य र सव्य रूपमा सम्पन्न गर्नेगरी तयारी भइरहेको बताउनुभएको थियो ।