राष्ट्रिय विभूति उद्यान सञ्चालनमा

3

खोटाङ, १९ मङ्सिर । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित पर्यटकीयस्थल कपासेभञ्ज्याङमा निर्माण गरिएको ‘राष्ट्रिय विभूति उद्यान (पार्क)’ सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको ७० लाख रूपैयाँ लगानीमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क किरात समुदायको महान् चाड साकेला उँधौलीको अवसर पारेर आज औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

राष्ट्रिय विभूति पार्क उद्घाटन कार्यक्रममा बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपालका सबै (१८ जना) राष्ट्रिय विभूतिहरूको मूर्ति राख्नेगरी गोलो घेराभित्र निर्माण गरिएको पार्क गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रूपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले झण्डोत्तोलनसहित मूर्ति अनावरण गरेर औपचारिकरूपमा सञ्चालनमा ल्याउनुभएको हो ।

प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको कपासेभञ्ज्याङको चौतर्फी विकास गर्नका लागि स्थानीय साने विश्वकर्माको नेतृत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । ‘सेल्मे–कपासे–हलहले पर्यटन प्रवर्द्धन समिति’ नाम दिइएको उक्त समितिले भौतिक पूर्वाधार निर्माणका साथै प्रवर्द्धनको काम गरेको हो ।

किरात समुदायको महान चाड साकेला उँधौली÷उँभौली तथा साउने सङ्क्रान्तिको भोलिपल्ट राँके मेलासमेत लाग्ने कपासेभञ्ज्याङमा स्थानीय बासिन्दाको आफ्नै लगानीमा ८७ घरपरिवार अट्ने एकीकृत बस्तीसमेत निर्माणाधीन अवस्थामा छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको सेभञ्ज्याङलाई प्रवर्द्धन गर्दै बाह्य पर्यटकसमेत भित्र्याएर आर्थिक उपार्जनको माध्यम बनाउने उद्देश्यले भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको वडाध्यक्ष पारस राईले बताउनुभयो ।

बहुउद्देश्यीय पर्यटन पार्क निर्माण गर्ने उद्देश्यले काम थालिएको कपासेभञ्ज्याङमा यसअघि नेपाल सरकार पर्यटन मन्त्रालय र तत्कालीन १ नम्बर प्रदेश (हाल कोशी प्रदेश) सरकारबाट २०–२० लाख रूपैयाँ बजेट उपलब्ध गराएको थियो । निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको कपासेभञ्ज्याङमा खोटेहाङ गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकाले सडक निर्माण, खानेपानी, बजार व्यवस्थापन, खेलमैदान तथा पोखरी निर्माणलगायतमा लगानी गरेको छ ।

करिब तीन हजार रोपनी सार्वजनिक जग्गा रहेको उक्त ठाउँमा अल्लो प्रशोधन केन्द्र र आलु भण्डारण गृहसमेत निर्माणाधीन अवस्थामा छ । कृषि ज्ञान केन्द्रले समन्वय गर्नेगरी बहुवर्षीय योजनाअन्तर्गत प्रदेश सरकारबाट प्राप्त बजेटमार्फत आलु भण्डारण गृहको काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

सात वर्षअघिदेखि पर्यटन प्रवर्द्धनको काम थालिएको कपासेभञ्ज्याङमा भोजपुरको टिटिएस सहकारी संस्थासँगको सहकार्यमा १५ हजार चियाको बिरुवासमेत रोपिएको छ । टिटिएस सहकारी संस्थाले निःशुल्क उपलब्ध गराएको चियाको बिरुवा स्थानीय बासिन्दाको सक्रियतामा २५ रोपनी खाली जग्गामा लगाइएको हो ।

कपासेभञ्ज्याङलाई प्रमुख पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजनाका साथ आसपासका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीयस्थलको समेत प्रवर्द्धन गर्ने काम भइरहेको गाउँपालिका प्रमुख मुक्तिले बताउनुभयो । “कपासेभञ्ज्याङलाई बहुउद्देश्यीय क्षेत्रका रूपमा विकास गर्ने अवधारण बनाएका छौँ । स्थानीय तहको मात्रै लगानीले पर्याप्त नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसमक्ष समेत आवश्यक बजेटको माग गरिएको छ”, उहाँले भन्नुभयो, “कपासेभञ्ज्यालाई नेपाल सरकारले तोकेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग जोड्नेगरी योजना बनाएका छौँ । यसले गाउँपालिकाको आन्तरिक आम्दानीको स्रोतसमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।”

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणपूर्वी क्षेत्रमा पर्ने पर्यटकीयस्थल कपासेभञ्ज्याङको प्रवर्द्धनमा तीनवटै तहका सरकारले चासो देखाएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । प्राकृतिक रूपले रमणीय कपासेभञ्ज्याङबाट उच्च हिमश्रृङ्खला, तराईका विभिन्न फाँट तथा खोटाङ र भोजपुरको सदरमुकामसमेत स्पष्ट देख्न सकिने स्थानीयवासी एवम् नेपाली कम्युनिस्ट पार्टी खोटेहाङ गाउँपालिका अध्यक्ष दिपेन थुलुङले जानकारी दिनुभयो ।

गुराँस पार्कको नामले समेत चिनिने कपासेभञ्ज्याङमा बौद्ध धर्मालम्बीको चैत्यहरूसमेत रहेका छन् । बर्सेनि पूजाआजा गरिने तीनकन्या देवीको थान तथा पोखरीसमेत रहेको उक्त पर्यटकीयस्थलका प्राकृतिक संरचनामा क्षति नपुर्याई स्तारेन्नति गर्ने काम भइरहेको प्रर्यटन प्रवर्द्धन समितिले जनाएको छ ।

कपासेभञ्ज्याङको पर्यटन प्रवर्द्धनका लागि बृहत्तर विकास गर्न  नौ करोड २२ लाख रूपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थानको पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधार निर्माणमा करिब एक करोड २२ लाख रूपैयाँ लगानी भइसकेको गाउँपालिकाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...