काठमाडौँ, १७ मङ्सिर । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा तेस्रो जित निकालेको छ ।
जित निकाल्ने क्रममा लुम्बिनीले विराटनगर किङ्ग्सलाई ५ विकेटले पराजित गर्यो । जीतका लागि पाएको १४५ रनको लक्ष्य लुम्बिनीले ५ विकेट गुमाउँदै पूरा गर्यो । जसमा ओपनर ब्याटर डार्सी सर्टले सर्वाधिक ५७ रनको योगदान गरे ।
विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभास भण्डारीले २÷२ र बसिर अहमदले १ विकेट हात पारे । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनायो । विराटनगरका लोकेश बमले सर्वाधिक ३५, बसिर अहमदले २८, साम हिजलेटले २७ रन जोडे । लुम्बिनीका शेर मल्लले ३ विकेट झारे ।
यो जितसँगै छ अङ्क जोडेको लुम्बिनीले पनि प्लेअफको सम्भावना बढाएको छ । छ खेलबाट आठ अङ्क रहेको विराटनगरको पनि प्लेअफको दौडमा छ ।