भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरू

6

दमौली, १७ मङ्सिर । मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भाँसिएको थियो ।

भाँसिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार करिब एक सय मिटर सडक भाँसिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । सडक भाँसिएको ठाउँमा कालोपत्र उप्काएर मर्मत गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डअन्तर्गत जामुनेबाट आँबुखैरेनीसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँमा लागेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...