क्रिकेटमार्फत् आमाको सम्मान र प्रकृति संरक्षणको सन्देश

7

काठमाडौँ, ११ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मार्फत् नयाँ सन्देश दिन खोजिएको छ । एनपिएलका फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले क्रिकेटको माध्यमबाट सामाजिक सन्देश दिन खोजेका हुन् ।

आज यी दुवै एक अर्का विरूद्ध खेल्दा अरू दिनको भन्दा फरक जर्सीमा उत्रिए । जनकपुर गुलाबी रङ्गको जर्सीमा खेल्दा सबै खेलाडीको जर्सीमा आमाको नाम लेखिएको छ । ‘आमाको सम्मान’ स्वरुप जनकपुरले आज आमाको नाम लेखिएको जर्सीमा खेलेको हो ।

जनकपुरका महाप्रबन्धक निरोज खतिवडाले आमाको सम्मानका लागि खेलाडीहरूले आमाको नाम अङ्कित जर्सी लगाएर खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली क्रिकेटमा पहिलोपटक नयाँ अभ्यास गरेका हौँ । क्रिकेटका माध्यमबाट आमाको सम्मान र सामाजिक कार्य गर्छौँ ।”

यसका साथै आज खेलेका जर्सी अक्सनबाट लिलामी गरेर सङ्कलित रकम आमाहरूद्वारा सञ्चालित सामाजिक कार्य र जेनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरूलाई सहयोग गरिने जनाएको छ ।

पोखराले जर्सी परिवर्तन गर्दै आज हरियो जर्सीमा खेलिरहेको छ । प्रकृति संरक्षण र जलवायु परिवर्तनको चेतना जगाउने सन्देश दिन खेलाडीले हरियो जर्सी लगाएका पोखरा एभेन्जर्सका प्रमुख सुवोध त्रिपाठीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोखराले गत वर्ष ग्लोबल वार्मिङको मुद्दा उठाउँदै आफ्नो जर्सीको अगाडिको भागमा ‘ग्लेसियर म्याटर्स’ लगाएर खेलेको थियो । यसवर्ष नयाँ सन्देश दिन हरियो जर्सी लगाएर खेलेका हौँ । हिमाल सुरक्षित राख्न यो अभियान चलाएका छौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...