काठमाडौँ, १० मङ्सिर । पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सोही अवधिमा सात करोड ७१ लाख रूपैयाँ राजस्व असुली भएको बताइएको छ ।
यस अवधिमा प्रवेश शुल्कबापत उक्त रकम असुली भएको हो । अघिल्लो वर्षको मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो साँझसम्म टिकट बिक्रीबापत सात करोड ७१ लाख रूपैयाँ सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनअघिसम्म प्रत्येक बुधबार बन्द हुने धरहरा अहिले हप्ताको सातै दिन सञ्चालन हुने गरेको छ । “अघिल्लो मङ्सिर ९ देखि अहिलेसम्म चार लाख ६९४ जना नागरिकले चढिसकेका छन्, जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन”, उहाँले भन्नुभयो, “बिहान १०ः३० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ, छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखिएको पनि उहाँको भनाइ छ । हालसम्म धरहरा चढेकामध्ये करिब २८ सय विदेशी नागरिक हुन् ।
ऐतिहासिक धरहरा चढ्न प्रतिव्यक्ति २०० रूपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने छन् । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रूपैयाँ शुल्क तोखिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको हो । अघिल्लो मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।
धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० रूपैयाँ र दुई पाङ्ग्रेलाई १० रूपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रूपैयाँ निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रूपैयाँ तोकिएको छ । व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजाररूपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रूपैयाँ निर्धारण गरिएको छ ।